|

जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

तीनवटा माध्यमिक विद्यालय, तीनवटा आधारभुत विद्यालय र सातवटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताए। त्यस्तै, कम्प्युटर सञ्चालनका लागि १२  विद्यालयलाई सैर्य ऊर्जा वितरण गरिएको छ। माध्यमिक स्तरका विद्यालयमा इन्टरनेट सेवा समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पाठ्यक्रममा कम्प्युटर विषय पढाइ भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्य आएपछि गाउँपालिकाले कम्प्युटर विद्यालयलाइ उपलव्ध गराएको हो।

लोकसेवा, प्राविधिकदेखि इन्जिनियर पढाउँदै गाउँपालिका
 
गाउँपालिकाले निम्न तथा आर्थिक अवस्था कमजोर भएका १०० जना विद्यार्थीलाई विद्यालयको सिफारिसका आधारमा १० हजार रुपैयाँ छात्रवृति उपलव्ध गराएको छ। कमजोर आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य हुनबाट रोक्न यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, प्राविधिक विषय पढ्ने १३ जना विद्यार्थीलाई ४५ हजार रुपैयाँका दरले आर्थिक सहायता गरिएको छ। निम्न आर्थिक अवस्था भएका विद्यार्थीलाई मात्र यो रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाबाट इञ्जिनियर उत्पादन गर्न चारजनालाई एक लाख रुपैयाँका दरले अनुदान रकम सहयोग गरिएको छ। त्यस्तै, निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई ३० हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराएर लोकसेवा आयोगको तयारीमा पठाएको अध्यक्ष शाहीले जानकारी दिए।

यस्तै, सवारी चालक बन्न चाहेका तर आर्थिक कमजोर भई तालिम लिनबाट बञ्चित १३ जनालाई ३४ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएर तालिममा पठाएको छ। रकम दुई किस्तामा उपलब्ध गराइने बताएको छ। सुरुमा आधा र तालिमपछि बाँकी रकम भुक्तानी दिइने गाउँपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.