|

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको झिलमिला ताललाई क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ। ताललाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न प्रदेश सरकारले बत्ती जडान गरेको छ। 

बत्ती जडानपछि ताल झलमल बनेको छ। बत्ती जडानमा २७ लाख १८ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।  

ताल क्षेत्रमा बत्ती जडान भएपछि स्थानीयमा खुसी छाएको छ। स्थानीय लालबहादुर थापाले यस क्षेत्रको भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे। उनले सडकको स्तरोन्नति र पर्यटकहरुका लागि धर्मशालाको निर्माण भए अझै सहज हुने बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज भट्टले पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको विकास र जगेर्ना गर्दै  मुल प्रवाहमा ल्याउनुपर्ने बताए।

उक्त ताल कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा छ। समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन्। यस तालले दिनमा तीन पटक रंग फेर्ने स्थानीयहरु बताउँछन्। ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण भएकाले छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.