|

महोत्तरी : ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनीकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उनीहरूको कुनै अत्तोपत्तो नगालेको हो।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनीलाई बेपत्ता पारिएको हो भने उनीको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापक रूपमा खोजतलास गरिरहेको छ। घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना अनुसन्धान जटिल बन्दै गइरहेको बताइएको छ।

प्रहरीले उनीको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आंकलन गरिरहेका छन्।

प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीको कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.