म्याग्दी : नेपाल मगर विद्यार्थी संघको एघारौं राष्ट्रिय विस्तारित भेला म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहीबार देखि सुरु भएको छ। देशभरबाट आएका मगर विद्यार्थीको भेलामा म्याग्दीका मगर समुदायका विभिन्न संस्थाहरूले मगर भेषभुषा प्रदर्शनीसँगै मौलिक पुर्खेउली नृत्य समेत प्रदर्शन गरेका छन्।
र्यालीमा सहभागीहरूले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा नारासमेत लगाएका थिए। दुई दिनसम्म संचालन हुने भेलाको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरे।
भेलामा मातृभाषामा पठनपाठन, निःशुल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
भेलामा देशभरका चार सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट एक सय ३२ जना, विश्वविद्यालयको तर्फबाट १४ जना प्रतिनिधिसँगै स्वयंसेवकहरू पनि सहभागी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।