|

काठमाडौं : नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार बिषयमा अध्ययन गरिरहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं। अब त्यो विभिन्न निकायबाट खोजीनीति होला, प्रश्न उठेको छ। त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला।’

बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरूको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकाले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए। उनले भने, ‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो। व्यापक रुपमा यो विषय उठाउनुभयो। पहिले पनि उठिराखेकै थियो। त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो। यी कुरा उठेका छन्।

यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ। मैले यत्ति भनेको हो। मैले आँफै उब्जाएर भनेको होइन। उठेको प्रश्नको मैले यसरी जवाफ आयो।’ फरक प्रसङ्गमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे। बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे। उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे। आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनपनि उनले घोषणा गरे। 

उनले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन्। उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन्।

उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्र बाँकी छ’ को संज्ञा दिए। उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए। देशलाई अस्थिरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए। अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.