|

काठमाडाैं :  २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको दशरथ रंगशाला पुनर्निर्माण भएर संचालनमा आइसकेको छ । १५ महिनाअघि १३ औँ दक्षिण एशियाली खेलकुद नै यही रंगशालामा संचालन भएको थियो। 

यतिबेला दशरथ रंगशाला चिटिक्क छ । मैदानदेखि लिएर चारै तिरका भौतिक पूर्वाधार आर्कषक देखिन्छन् । अहिले दर्शकहरु प्रवेश गर्ने द्वार पनि पहिलेभन्दा फराकिलो देखिन्छ । यही रंगशाला जहाँ ३३ वर्ष अघि दुर्घटना भएको कुरा पछिल्लो पुस्तालाई कथा जस्तै लाग्छ । त्यतिबेला खेललाई रुचाउने र खेल्नेहरूका लागि यो दुर्घटना उनीहरुको मानसपटलमा ताजै छ । 

दशरथ रंगशालामा भएको दुर्घटनाको शनिबार ३३ वर्ष पुगेको छ । २९ फागुन २०४४ का दिन रंगशालामा भागदौड मच्चिएर ७३ जनाले ज्यान गुमाएका थिए।हावाहुरी चलेर भागदौड मच्चिएका बेला अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल खेल भइरहेको थियो ।

जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धा क्लबबीच खेल जारी रहँदा अचानक हावा हुन्डरी चलेपछि दर्शकले खचाखच रंगशालामा एकाएक भागदौड मच्चिएको थियो ।

'अचानक हावाहुन्डरी चलेपछि दर्शकले खचाखच भरिएको रंगशालामा एकाएक भागदौड मच्चियो', तत्कालिन शिक्षा तथा संस्कृति मन्त्री केशरबहादुर विष्टले भने, बाहिर निस्कने सबै गेट बन्द थिए, त्यसैले दर्शक बाहिर निस्कन सकेनन् ।'

यो घटनामा करिब २ सय जना घाइते भएका थिए । तत्कालिन शिक्षा तथा संस्कृति मन्त्री विष्ट हावा हुण्डरीपछि भागेका दर्शक रंगशालाको बन्द ढोकाका कारण बाहिर निस्कन नसक्दा धैरैको ज्यान गएको बताउँछन्।

'त्यो घटना सम्झँदा पनि धेरै दुःख लाग्छ, आङ नै सिरिङ्ग हुन्छ', विष्ट भन्छन् । तर पनि खेल भइरहँदा रंगशालाको सबै ढोका बन्द गर्ने परम्परा अहिले पनि कायमै छ । त्यसबेला खेलकुद क्षेत्र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मामा थियो । रंगशालामा यो घटना हुँदा मन्त्री विष्ट लामाटारमा एउटा स्कुलको कार्यक्रममा थिए। 

उनले रंगशालामा भएको दुर्घटनाले खेल भइरहँदा ढोका खोल्ने, बन्द गर्नेलगायतका सावधानीको पाठ सिकाएको बताए । सो घटनापछि नैतिकताको आधार देखाएर मन्त्री पदबाट विष्टले राजीनामा दिएका थिए।

'मलाई उठ्दा, खाँदा , बस्दासमेत त्यो घटनाले पीडा दिइरह्यो, भित्री आत्माले कतै म नै जिम्मेवार पो हुँ कि ? जस्तो लाग्यो र मैले राजीनामा गरेँ' , भावुक हुँदै विष्टले भने । विश्व फुटबलमा भएको शिर्ष १० घटनामा परेको यो घटना विशेषगरी रंगशालाको ढोका बन्द गरिँदा हजारौँ दर्शक च्यापिएर भएको बताइन्छ ।

खेलको मध्य समयमा भएको यो घटनाले चुरोट कारखानाका तत्कालिन प्रशिक्षक योगम्बर सुवाललाई पनि बारम्बार झस्काइरहन्छ। 'जिन्दगीमा मैले भुल्नै नसक्ने घटना त्यही हो', सुवाल भन्छन् । 

रंगशालामा दुर्घटना हुँदा तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव शरदचन्द्र शाह थिए भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कमल थापा थिए । यो विपत्तिपछि एन्फाका तत्कालिन अध्यक्ष कमल थापाले पनि नैतिकताको आधारमा राजीनामा दिएका थिए।

'आफ्नै आयोजनामा भइरहेको खेलमा अचानक धेरैले ज्यान गुमाउनुपरेका कारण मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ, थापाले त्यो क्षण सम्झँदै भने,  'रंगशालामा बसेर हामीले फुटबल हेरिरहेका थियौँ, अकस्मात डरलाग्दो हुरी–बतास र आँधी आयो, धेरै दर्शक ज्यान जोगाउन भाग्न थाले । तर ,दुर्भाग्य ! भागदौडकै कारण धेरैको ज्यान गयो ।' 

फुटबल हेर्न रंगशाला पुगेका फ्रेन्ड्स क्लब कुपण्डोलका पूर्वखेलाडी श्रीराम श्रेष्ठ पनि यो घटनालाई भुल्न सक्दैनन् । 'कक्षा–७ मा पढ्थेँ, साथीभाइसँग फुटबल हेर्न गएको थिएँ, उनले भने, एक्कासी आकाशमा कालो मैलो हुँदै हावा–हुरी चल्यो, चारैतिर होहल्ला मच्चिए पछि हामी मैदानमा छिरेर बाँच्यौँ, तर घर फर्किएपछि पो थाहा भयो, घर नजिकैका एकजना पसले दाइको निधन भइसकेको रहेछ ।'

पछिल्लो समयमा रंगशालामा कुनै पनि ठूला प्रतियोगिता भइरहँदा कुनै किसिमको समस्या आइपरे माइकबाट दर्शकलाई संयमित हुन आग्रह गर्नुका साथै खेल सकिनै लाग्दा रंगशालाका सबै ढोका खुला छन् भन्ने जानकारी गराइन्छ । जसले गर्दा एकैपटक ढोकामा भिड हुन जादैन । तैपनि अहिले साधारण प्याराफिटबाट बाहिरिने सिँढीको संरचनाले पनि केही समस्या ल्याउन सक्नेतर्फ खेलकर्मीले चासो ब्यक्त गर्ने गरेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.