|

काठमाडौं : सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्नका लागि अनुमति दिने भएको छ। 

औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहित २०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ। 

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्नुपर्ने सूचना उल्लेख गरिएको छ। विभागले अहिले नेपालमा भारतको कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेका खोप प्रयोगका लागि अनुमति दिएको छ। 

अनुमति प्राप्त गर्ने आयातकर्ताले यी दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचीकृत गरेका खोप आयात गर्न सक्ने विभागले जनाएको छ। सरकारले खरिद गरी ल्याउन लागेको खोप आयातमा ढिलाई हुने देखिएपछि निजी क्षेत्रलाई आयात खुला गरेको हो। सरकारले हालसम्म करिब २३ लाख डोज खोप ल्याएको छ। 

सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो।  त्यसपछि सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरी अग्रिम भुक्तानी गरिसकेको छ। तर १० लाख डोज खोप दिएको सिरमले बाँकी १० लाख डोज खोप तत्काल दिन नसक्ने भनेपछि नेपालमा खोप अभियान नै प्रभावित हुने देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.