कार्यकर्ता भेला नरोक्ने र चियापानमा पनि नजाने नेपाल समूहको निष्कर्ष

|

काठमाडाैं : नेकपा एमालेमा देखिएको विवाद थप चर्किने संकेत देखिएको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट नेपाल–खनाल समूहसँग संवाद सुरु गरे पनि विवाद थप चर्किँदै गएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताबीच आज वार्ता भएको थियो।

वार्तामा दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन्। नेपाल–खनाल समूहले फागुन २८ गते ओलीले बालुवाटारमा एकलौटी बैठक राखेर गरेका निर्णय खारेज भएमात्रै सहमति हुनसक्ने प्रस्ताव गरेको थियो। तर प्रधानमन्त्री ओलीले त्यसमा ठोस जवाफ नदिएपछि कुनै निश्कर्षबिना वार्ता सकियो। कुराकानी जे भए पनि संवादको थालनी भएको भन्दै पार्टी एकजुट हुने आशा नेता तथा कार्यकर्ताले गरेका थिए। 

आफ्नै सुरमा नेपाल–खनाल समूह

धुम्बाराहीबाट निस्किएपछि अर्याल होटलमा जम्मा भएका खनाल नेपाल समूहका नेताले यहि ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेका छन्।

नेताहरुका अनुसार बिहान भएको ओली पक्षसँगको छलफल निष्कर्षमा नपुगेपछि आफ्नो समूहका गतिविधि नरोक्ने गरी बढ्ने निस्कर्ष निकालेको हो। नेपाल–खनाल समूहले प्रधानमन्त्री ओलीले भोली बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा पनि नजाने निर्णय गरेको छ। 

थाहाखबरसँग कुरा गर्दै नेता योगेश भट्टराईले राष्ट्रिय भेलालाई भव्य रुपमा सम्पन्न गर्ने निष्कर्ष निकालेको जानकारी दिए। उनले भने, ‘देशभरिबाट सबै साथीहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ, ओली समूहले राखेको चियापान कार्यक्रममा जाने–नजाने भन्ने कुरा हरेक व्यक्तिहरुले आफैं निर्णय गर्छन्, कसैलाई नजाऊ पनि भनिँदैन, जाऊ पनि भनिँदैन।’ 

नेपाल समूहका यी गतिविधि एकता भाँड्न बल पुग्ने–ज्ञवाली

नेपाल–खनाल समूहको यस्तो निर्णयपछि ओली पक्षले यस्ता गतिविधिले एकता भाँड्न बल पुराउने टिप्पणी गरेको छ। थाहाखबरसँग कुरा गर्दै पार्टी सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले नेपाल–खनाल समूह विपरीत बाटोमा हिँडिरहेको टिप्पणी गरे। परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले आजको यो स्थिति आउनुमा पनि उनीहरूकै (नेपाल समूह) मुख्य भूमिका रहेको आरोप लगाए।

उनीहरूले यसरी गुटगत रुपमा राष्ट्रिय भेला गर्दै गए पार्टी एकतामा झनै अफ्ठारो अवस्था स्थिति पैदा हुने उनको भनाइ थियो। ‘अब यी सबै कुरा एकतालाई बल पुराउने विषय होइनन्। किन उहाँहरु यसरी विपरीत बाटो हिँड्न खोज्नु भएको छ, मैले बुझेको छैन। आजको छलफल सकरात्मक नै भएको हो, विषय टुंगिएको चाँहि होइन। तर पनि नेताहरुसँग छलफल गरेरै बढ्न सकिन्छ भन्ने कुरा हो,' ज्ञवालीले भने, तर अब यसरी राष्ट्रिय भेला गर्ने र विवादलाई झन तल–तल लगेर ध्रुवीकरण गर्दै गइसकेपछि त भोलिका दिनहरुमा त एकता झन अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने हुन्छ। आजको छलफलको स्प्रिटअनुसार उचित नभएको उनको भनाइ थियो। 

यसअघि एमाले मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि बाहिरिने क्रममा प्रवक्ता ज्ञवालीले एमालेमा पछिल्लो पटक देखिएको तिक्तता मेटाउन पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको बताएका थिए। ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताएका थिए।

त्यस्तै छलफलमा सहभागी नेता भीम रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको बताएका थिए। पार्टी अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताबिना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो।

४ महिनापछि वार्ता सकरात्मक भनिएको थियो

आज बिहान नेपाल समूहले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो। पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको दुवै पक्ष सम्मिलित बैठकमा, नेपाल समूहले यस्तो अडान राखेको हो।

बैठकमा वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री ओली दुबैले आआफ्नो नछाडेको बैठकपछि नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए। आजको वार्तालाई सकारात्मक रुपमा टिप्पणी गर्दै उनले शीर्ष तहदेखि आफ्नो तहसम्म पनि छलफल जारी राख्ने बताएका थिए। नेता पन्तले सुदृढ एमाले बनाउन दुबै पक्षले पहल गर्नुपर्ने बताउँदै विवाद समाधानका लागि यो बैठक सुरुवात भएको बताएका थिए।

ओलीले भेला स्थिगित गर्न आग्रह गरेका थिए

आज बैठकमा ओलीले नेपाल समूहले आह्वान गरेको भेलालाई स्थगित गर्न आग्रह गरेका छन्।  ‘उहाँहरुले २८ गतेको निर्णय मान्नुभएको छैन। हामीले अगाडि बढौँ। त्यो निर्णयलाई थप सुधार गरेर छलफल गरौँ भनेका छौँ,' छलफलपछि सचिव ज्ञवालीले सञ्चारकर्मीसँग भनेका थिए। आजको छलफलमा ओलीसहित उहाँका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र पन्त सहभागी थिए। 

बामदेव पनि आफ्नै समूह बनाउँदै

​यसअघि एमालेका उपाध्यक्ष रहेका वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन्। यो बैठक भोलि बिहान ११ बजे बस्ने छ। गौतमनिकट नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको एक पार्टी प्यालेसमा बोलाइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बसेको बैठकले नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए। सोही बैठकले उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको थियो। त्यसपछि गौतम असन्तुष्ट बनेका छन्। त्यही विषयमा छलफल गर्न गौतमले बैठक बोलाएका हुन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.