बर्सेनि सात सय ट्रान्सफर्मर जल्छन्, तर तथ्यांक राख्दैन प्राधिकरण

|

काठमाडौं : पुतलीसडक चोकको कम्प्युटरबजारमा २०७७ माघ २५ गते आगलागी भयो। मानवीय क्षति नभए पनि टेलिफोनका तारहरू भने जले। प्रहरीका अनुसार बिजुलीको ट्रान्सफर्मर पड्किँदा आगलागी भएको थियो। त्यस्तै २०७६ वैशाख २९ गते काठमाडौंको लगनटोलमा आगलागी भयो।

त्यहाँ पनि विद्युत् ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको थियो।

यी दुई घट्ना एक उदाहरण मात्रै हो। उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् ट्रान्सफर्मर पड्किएर आगलागीका घटनाा हुने गरेको छ। चैत, वैशाखको समयमा घामको रापबाट पनि ट्रान्सफर्मर जलेको देखिन्छ। तर, पुराना यी ट्रान्सफर्मर व्यवस्थापनमा विद्युत् प्राधिकरणको ध्यान गएको देखिन्न। जसले गर्दा जोखिम बढेकाले सर्वसाधारण त्रसित छन्। 

‘कमसल ट्रान्सफर्मर राखिँदा जोखिम बढ्यो’

कमसल ट्रान्सफर्मर जडान गरिँदा आगलागी हुने गरेको समेत सर्वसाधारण तर्क गर्छन्। पुतलीसडक चोकका सदीक्षा श्रेष्ठ भन्छिन्, ‘केही महिनाअघि यहाँको कम्प्युटर बजारमा ट्रान्समिटरमा आगलागी भएर सबै तार जल्यो। धन्न केही मानवीय क्षति भएन। प्राधिकरणले कमसल खालका ट्रान्सफर्मर राखेर त होला जहिले नि आगलागी हुन्छ। अन्य ठाउँमा पनि आगलागी भएको देखेको छु।’ 

सर्वसाधारणको ज्यान जोखिम हुने गरेको भन्दै उनले तत्काल पुराना ट्रान्सफर्मरहरू फेरेर व्यवस्थित पार्नुपर्ने माग गरिन्। ‘थाहै नभएको बेला आगलागी हुन्छ,’ उनले भनिन्, ‘यसले सर्वसाधारणको ज्यान नै जोखिम हुन्छ। त्यसैले सरकारले यसलाई व्यवस्थित गराउनुपर्छ।’

प्राधिकरणका तर्क

बढीजसो चैत वैशाख महिनामा ट्रान्सफर्मरमा आगलागी हुनुका कारण हावाहुरी रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना तर्क गर्छन्। उनले भने, ‘चैतमा बढी हावाहुरी चल्छ। तारहरू एक अर्कामा टच हुन्छन्। रूखहरूका हाँगा, पातले समस्या ल्याउँछ। त्यसैले आगलागी भएको हो।’ उनी अन्य समयमा भने प्राविधिक कारणले ट्रान्समिटर पड्किने गरेको बताउँछन्।

‘ट्रान्समिटरभित्र तेल हुन्छ। कुनै बेला हाई करेन्ट आउँछ। त्यसलाई कन्ट्रोल गर्ने सिस्टम हुन्छ। त्यसले काम गरेन भने अरु बेला आगलागी हुन्छ,’ उनले भने। कमसल समान प्रयोग गरिएको हो भन्ने प्रश्नमा उनले राम्रो क्वालिटीको नै जडान गर्ने गरिएको बताए।

‘हामीले कमसल ट्रान्सफर्मर प्रयोग गर्दैनौँ। त्यस्तो प्रयोग गर्ने भन्ने हुँदै हुँदैन। बेवास्ता गरियो भनेचाहिँ बेग्लै कुरा हो। सस्तो चिज भने प्रयोग गरिन्न। खरिद गर्दा पनि टेक्निकल कुराहरू हेरेर मात्रै किनिन्छ,’ उनले भने। ट्रान्सफर्मरको केभीअनुसार पाँच लाखदेखि एक करोडसम्म ट्रान्सफर्मरको मूल्य पर्ने उनले बताए। उनले ट्रान्सफर्मर २० देखि २५  वर्षसम्म टिकाउ हुने पनि जानकारी दिए। पुराना ट्रान्सफर्मर निरन्तर फेर्दै जाने गरेको उनको भनाइ छ। 

कति छन् ट्रान्सफर्मर?

नेपाल विद्युत् प्राधिकरण काठमाडौं प्रादेशिक कार्यालयका अनुसार १३ जिल्लामा सात हजार पाँच सय ५३ वटा ट्रान्सफर्मर जडानमा छन्। जसमा सिन्धुली जिल्लामा दुई सय ७६, रामेछापमा एक सय ८७, दोलखा जिल्लामा तीन सय ८६, सिन्धुपाल्चोकमा ६ सय १२,काभ्रेपलान्चोकमा सात सय ९१ वटा ट्रान्सफर्मर छन्।

त्यस्तै, ललितपुरमा पाँच सय ९५, भक्तपुरमा चार सय १३,काठमाडौंमा १७ सय ९९, नुवाकोटमा पाँच सय ८, रसुवामा ७४, धादिङमा तीन सय ९२, मकवानपुरमा ६ सय ७७ र चितवनमा ८ सय ११ वटा ट्रान्सफर्मर जडान गरिएको छ।

यी ठाउँमा बर्सेनि करिब सात सय ट्रान्सफर्मर जल्ने गर्छन्। यी १३ जिल्लामा थप नयाँ १५ सय २३ वटा नयाँ ट्रान्सफर्मर यसै आर्थिक वर्षमा जडान गरिने र यसका लागि टेन्डर प्रक्रिया अघि बढाइएको प्रादेशिक कार्यालयले जनाएको छ।

प्राधिकरणसँग खर्च विवरण र पुराना ट्रान्सफर्मरको तथ्यांक नै छैन 

प्राधिकरणसँग कति वटा पुराना ट्रान्सफर्मर छन् भनी तथ्यांक नै छैन। निरन्तर फेरिरहने भएकाले संख्या नै यकिन गर्न नसकिने काठमाडौं प्रादेशिक कार्यालयको भनाई छ। त्यस्तै, खर्चको समेत लेखाजोखा छैन।

यस विषयमा प्राधिकरणको जिन्सी व्यवस्थापनका प्रबन्धक कमल आचार्य भन्छन्, ‘दुई वर्षदेखि नयाँ ट्रान्सफर्मर खरिद गरेका छैनौँ। हामीले मात्रै किन्ने नभई स्थानीय तहको बजेटले पनि किनेका हुन्छन्। त्यसैले के कति खर्च लाग्यो भन्ने यकिन नै हुन्न।’

उनले डेढ सय ट्रान्सफर्मर स्टकमा रहेको जानकारी दिए। ‘अहिले प्राधिकरण नाफामै छ। त्यसैले प्राधिकरणबाटै नयाँ ट्रान्सफर्मर खरिद गर्ने कि भन्ने योजना बनाएको छ। खरिद गरेपछि मात्रै खर्च विवरण आउँछ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.