|

पर्वत : मान्छेका आ–आफ्नै खालका सपना हुन्छन्। कोही चाहन्छन्-सुख सयलमै रमेर जीवन बिताउँ। 

यस्ता मानिसहरूभन्दा यहाँ देशको लागि केही गर्न खोज्नेहरूले विशेष भूमिका राख्छन्‌। ​देशकै लागि आफूलाई मरिमेट्न तयार हुने वीरताका गाथा बोकेका बहादुरहरू कमै हुन्छन्।

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका अमिट के.सी बहादुरी पथमा हिँड्न खोजिरहेका एक युवा हुन्‌। उमेरले ३५ वर्ष पुगेका के.सी.जन्मजातै दृष्टिविहीन हुन, उनले बाहिरी संसार कत्ति पनि नियाल्न पाएका छैनन्।

आफूले आँखै नदेखेर पनि सगरमाथाको चुचुरोमा पाइला टेकेर ‘सगरमाथामा पाइला राख्ने पहिलो नेपाली दृष्टिविहीन र विश्वकै दोस्रो’ बनेर देशको नाम राख्न उनी हौसिएका छन्। सगरमाथामा पाइला राख्ने पहिलो दृष्टिविहीन व्यक्ति भने अमेरिकी नागरिक एरीक हुन्। 

‘यो देशको झण्डा बोकेर सगरमाथाको चुचुरोमा पुग्न मन छ, सगरमाथामा पुग्ने नेपालकै पहिलो दृष्टिविहीन बन्न अभियानमा लागेको छु,’ अमिट भन्छन्, ‘मर्नै परेछ भनेपनि यो शरीर देशका लागि नाम राख्ने प्रयोजनमा अर्पिन म तयार छु।’

यही चैत २० गतेदेखि जेठ २७ गतेभित्रमा सगरमाथाको शिखरमा पुग्ने गरी उनका लागि समय तालिका बनेको छ। अहिले ‘दृष्टिविहीन अमिट के.सी. सगरमाथा आरोहण अभियान २०७७/०७८’ नै चलाइएको छ।

आर्थिक समस्या झेल्दै

हिमाल चढ्ने काम यसै त कठिन, त्यसमाथि आर्थिक रूपमा समस्या भएपछि अमिट आफ्नो सपना पूरा नहुने हो कि भन्ने चिन्तामा छन्। न्यूनतम एक करोड रुपैयाँ खर्च हुने के.सी. को ‘प्रोजेक्ट प्लान’ मा लेखिएको छ। तर उनीसँग अहिले करिब सात लाख रुपैयाँ मात्रै छ।  

पैसाका कारण सगरमाथा चढ्ने चाहना नमरोस् भन्नका लागि उनी अहिले जिल्ला दौडाहामा लागेका छन्। स्थानीय तह, विद्यालय, विभिन्न क्लब लगायतमा आर्थिक सहयोगको अनुरोध गर्दै धाइरहेका छन्। केही दिन भित्रमा नै करिब ९३ लाख रुपैयाँ जुटाउनु उनका लागि मुस्किल छ। यही कारण हरेक संस्थामा धाएको अमिट बताउँछन्।

‘सगरमाथामा पुग्न सबै गरेर नेपाली एक करोड रुपैयाँ लाग्छ, ग्रुपमा जाने भए त सस्तो पर्छ, तर म एक्लै चढ्दै छु,’ उनले भने, ‘पैसाका कारण यो अभियान रोकिन हुँदैन, सबैले जे जति सक्नुहुन्छ सहयोग गरेमा मेरो र मेरो देशको सपना साकार हुने,’ आर्थिक सहयोगको लागि संघीय सरकारमा निवेदन र प्रतिवेदन पेश गरेको के.सी.ले बताए। 

यसरी शुरू भयो सगरमाथा चढ्ने हुटहुटी

करिब ८ वर्ष अघिसम्म उनी बागलुङ सदरमुकाम बागलुङ बजारमा रहेको रामरेखा आधारभूत विद्यालयमा प्रा.वि. तहमा अध्यापनरत थिए। उनी राहत कोटा प्राप्त गरेका शिक्षकको थिए।

त्यसबेला पोखरामा अमेरिकी नागरिक क्लेफले दृष्टिविहीनहरूलाई ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण दिन लागेको अमिटले थाहा पाए। उनी प्रशिक्षणमा गए।

तालिम चल्दै गर्दा प्रशिक्षक क्लेफलाई अमिटले ‘के म सगरमाथा चढ्न सक्छु?’ भनी प्रश्न गर्दा प्रशिक्षकबाट आएको जवाफले उनलाई ठूलो हौसला मिल्यो।

प्रशिक्षकले भनेको कुरा सम्झिँदै उनले भने, ‘मेरो प्रश्नको जवाफमा उहाँले पानीमा माछा पौडन सक्छ कि सक्दैन भन्नु र एउटा नेपालीले म सगरमाथा चढ्न सक्छु कि सक्दिन भनेर प्रश्न गर्नु एकै हो भनी बताउनुभयो।’ 

यो जवाफबाट नै अमिटमा सगरमाथा आरोहण गर्ने सपना जाग्यो। खाइपाई आएको जागिर नै छाडेर उनी सगरमाथा आरोहणको तालिम र अभियानमा वर्षौंदेखि लागे।

पहिलो पटक असफल

आवश्यक तालिमहरू पूरा गरेपछि अमिटले सन्‌ २०१७ मा सगरमाथाको यात्रा तय गरे। मौसमको खराबीका कारण चौथो आधार शिविर रहेको साउथ कोलमा उनी रोकिनुपरेको थियो।

मौसम नखुलेपछि करिब ३६ घण्टा उनी त्यहीँ बस्नुपर्‍यो। साथमा लगेको अक्सिजन सकियो, बाध्यता उनी फर्किनुपर्‍यो । मौसम त खुल्ने थियो होला, तर लामो समय आधार शिविरमा रहँदा साथमा लगेको अक्सिजन सकिँदा उनको सपना पूरा हुन सकेन्।

तालिमका दौरान उनी २०७२ को वैशाखमा सोलुखुम्बुको ६ हजार एक सय ८६ मिटर उचाइमा रहेको आइसल्यान्ड पिक र सोही वर्षको चैत ८ मा ६ हजार ६ सय ५४ मिटर उचाइमा रहेको मेरापिकमा पुगे। 

प्रयास असफल भएर उनी फर्किए लगत्तै नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पर्वतारोहण लगायत हिमाली अभियानमा बन्देज लगायो। आफ्नो सपनामा ‘ब्रेक’ लाग्ने भएपछि उनी, पत्रकार महासंघका केन्द्रीय सदस्य माधव चाम्लागाईं लगायतका केही संघसंस्था मिलेर सरकारको निर्णयको विरोधमा रिट दायर समेत गरे। उनी जान पाउने भएपछि आरोहणको तयारी हुँदै गर्दा कोरोना महामारीका कारण अभियान नै रोकियो, जुन बेला उनले धेरै पैसा समेत खर्च गरिसकेका थिए।  

'अब पीर हट्यो'

परिवारले अमिटलाई शारीरिक असहजताका बाबजुद सगरमाथा चढ्ने सपनामा नलाग्न धेरै पटक अनुनय गरे। आँखा देख्ने मान्छेले समेत सगरमाथा चढ्दा ज्यान गुमाउनुपरेको सुन्दै आएका परिवारका सदस्यलाई दृष्टिविहीन मान्छे सगरमाथा जाँदा फर्किएर आउनेमा शंका नहुने त कुरै भएन। 

तर अब भने बुबा, आमा, श्रीमती, दाइ, भाउजू लगायत सबै अमिटको अभियानको पक्षमा उभिएका छन्। एक त पहिलो प्रयासमै जोखिमपूर्ण क्षेत्र मानिने खुम्बु आइस फलमा पुगेर फर्किएपछि अमिटले गर्न सक्छन् भन्ने उनको परिवारमा विश्वास भएको छ। दोस्रो देशको नाम राख्नको लागि साहस बोकेर वीरताका साथ हिँडेको छोरा/श्रीमानलाई अवरोध गर्न हुँदैन भन्ने परिवारमा परेको छ।

‘अहिले बुबा, आमा श्रीमती सबै जना कन्भिन्स हुनुभएको छ, मेरो सपना साकार पार्न उहाँहरूको साथले झनै हौसला मिलेको छ,’ परिवारलाई सम्झिँदै खुसी मुद्रामा अमिटले भने, ‘काल आएको रहेछ, मलाई सगरमाथामा पुगेर मर्नु नै लेखेको रहेछ भने त्यहीँ हिउँकै विस्तारामा प्राण त्यागौँला, एक दिन मर्नु त छँदै छ, त्यसमा पनि सगरमाथामै मर्न लेखेको रहेछ भने नि के नराम्रो भयो त? त्यो भाग्य हो।’

ज्यानको प्रवाह नगरी सगरमाथा चढ्ने साहसमा जुटेका अमिटले आफू आर्थिक समस्यामा रहेकोले जसले जहाँबाट जति सकिन्छ-आर्थिक सहयोग गरेर सगरमाथा पुग्ने नेपालकै पहिलो र विश्वको दोस्रो दृष्टिविहीन बन्ने अभियानमा सघाउन अनुरोध गरिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.