|

नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।

जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटमा गोल गरेका थिए। धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए। उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पुरस्कृत गरेका थिए। 

जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको बताए। उनले भने,‘अहिले नै च्याम्पियन बन्न सहज त छैन। तर हामीले आज लिगको बलियो टोलीलाई हराएको छौं।

हाम्रो बेन्च खेलाडी पनि बलियो भएको आज प्रमाणित भएको छ । यसले टिम थप बलियो भएको छ।’ नयाँ र पुराना खेलाडीको समन्वय मिल्दै गएकोले टोली स्तर थप सुधार हुँदै गएको प्रशिक्षक चन्दले बताए।​

धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठले सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए। उनले भने,‘सुरुआतमै हामीले ‘सिल्ली’ गोलको सामना गर्न पर्यो। त्यसले टिमको रिदम बिग्रियो।

हामीले लगातार तीन खेल गर्मीमा खेलेको छौं। त्यसले पनि खेलमा असर गरेको छ।’ आफनो टोलीको तुलनामा बिपक्षीले शनिबार राम्रो खेलेको प्रशिक्षक रबिन्द्रले प्रतिक्रिया दिए।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ्न। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.