|

बझाङ : जयपृथ्वी नगरपालिका-५ घर भएका धन बहादुर बुढाथापा बाजेको पालादेखि नै शुरू गरिएको मौरीपालन व्यवसायमा लागिरहेका छन्‌। बाजेको पालामा आफ्नो घरमा २५ घार मौरी रहेको, तर अहिले ५ घार मात्रै बाँकी रहेको उनी बताउँछन्‌। 

तर, पछिल्लो समय मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी मर्न थालेपछि उनी चिन्तित छन्‌। उनले भने, 'मौरी के कारणले मरे भन्नेबारे धेरै जानकार नभएपनि भएका घारहरूमा पनि मह निकाल्दा मह पनि हुँदैन, मह उत्पादन गर्ने उत्तम समय चैत र वैशाख भएपनि रित्ता पोतलाहरू मात्र लागेका हुन्छ, धेरै वर्ष अघि मौरी चर्न जंगल थियो, खेतबारीमा तोरी, प्रशस्त कोइराला र चिउरीका बोटहरू हुन्थे, अहिले गाउँघरमा केहि छैन, यसपटक त वनमा लालीगुराँस पनि फुलेन;

कृषि ज्ञान केन्द्र बझाङले मौरी व्यवसायीहरूका लागि चिउरी बोट वितरण गरे आफूले सयौं बोट लगाउने र त्यसका लागि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने किसानहरू बताउँछन्‌। 

जयपृथ्वी नगरपालिका २ घर भएका जनक खड्का पनि मौरी पालनमै लागिरहेका छन्‌। उनले पनि मह उत्पादनमा ह्रास आएको बताएका छन्‌। उत्पादन नहुँदा बाहिरी जिल्लाबाट मह बेच्ने आउनेहरू बढ्न थालेका उनले जानकारी दिए‌।​हाल जिल्लामा मह प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री-वितरण हुने गरेको छ। 

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार हाल बझाङमा ४३ जना मौरी व्यवसायीहरू रहेका छन्‌। एक वर्षमा २५ सय केजी उत्पादन हुने गरेको छ। जिल्लामा ७ सय ४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८ सय १२ घार रहेका छन्‌। मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुंगल नगरपालिका उत्तम क्षेत्र मानिन्छ।

कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, 'आधुनिक घार र प्रविधितर्फ किसानहरू आकर्षित भइरहेका छन्‌, तर मौरीको चरन क्षेत्र नास, सुलसुलेको आक्रमण, विषादी प्रयोग र जलवायु परिवर्तनले घर मौरीभन्दा भीर मौरीको मह उत्पादन बढेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.