|

विराटनगर : भोजपुर हतुवागढी हसनपुरका रुद्र खनाललाई सुनसरीबाट पैदल हिँड्दा घर पुग्न पाँच घण्टा लाग्थ्यो। साँघुरो भीरको बाटो। गह्राैं भारी बोकेर नदीको किनार पछयाउँदै हिँड्नु रहरभन्दा पनि थियो उनलाई।

तर पछिल्लो समय पैदल हिँड्दा पाँच घण्टा लाग्ने बाटो सप्तकोसीमा 'पानीजहाज' (स्टिमर) सञ्चालन भएसँगै  चतराघाटदेखि अरुण नदीको संगम हुँदै पाँच मिनेटमा नै गाँउ पुग्न सकिने उनको अनुभव छ। 

सुनसरीबाट आफन्त भेटेर फर्किएको बताउने रुद्र भन्छन्, ‘पहिले हामी घरायसी सामान खरिद गर्न पैदल सुनसरी आउँथ्याैं, आजभोलि सजिलो छ, पानीजहाज चलेकाले हिँड्नु पर्दैन, तर बर्खामा नचल्दा त पैदल नै हो।’ 

हतुवागढी पुग्दा पाँच सय भाडा तिर्न पर्ने भए पनि गन्तव्य सहज र छिटो पुग्ने भएकाले पैसाभन्दा समय महत्व हुन थालेको उनले बताए। सप्तकोसीमा यसखाले स्टिमर सञ्चालनमा आएसँगै स्थानीयलाई यात्राका लागि सहज भए पनि पछिल्लो समय खुवालुङ विवादले अलमलमा परेको उनी बताउँछन्।

किरातहरूको धार्मिक आस्थासँग जोडिएको खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्न सके बराहक्षेत्रजस्तै थप धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने  उनको बुझाइ छ।

फस्टाउँदै होटल

स्टिमर सञ्चालनमा आएसँगै सरीता श्रेष्ठको दैनिक आम्दानी पनि फेरिएको छ। सधैँभन्दा आम्दानीमा दोब्बर कमाइ हुने गरेको उनी सुनाउँछिन्। विशेषगरी विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू भ्रमण साथै जलयात्राका लागि आउने उनको पसलमा ठोकिने गरेको छन्। 

दैनिक २० देखि ३० हजारसम्म आम्दानी हुने गरेको सरीताले जानकारी दिइन्। भनिन्, ‘अन्य समयभन्दा शनिबार कार्यालय, स्कुल बिदा हुने भएकाले शनिबार भीडभाड हुनेगर्छ।’ विशेष गरेर पर्यटकहरू स्टिमर चढ्नैका लागि आउने गरेको उनको भनाइ छ।

यस्तै होटल व्यवसायी सुष्मा राई पनि स्टिमर सञ्चालनमा आएसँगै  व्यवसाय फस्टाउँदै गएको बताउँछिन्। 

'शनिबार र शुक्रबार घुम्नका लागि कर्मचारी, विद्यार्थी आउँछन्। र अन्य समय सुनसरीदेखि भोजपुर जाने स्थानीय सामान ढुवानी गर्ने पनि आउँछन्,' सुष्माले सुनाइन्।कुनै समय स्टिमर सञ्चालन हुन नसक्दा व्यापार ठप्प भएको उनले बताइन्। 

पछिल्लो समय चर्चामा रहेको खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सके आन्तरिक साथै बाहृय पर्यटकहरू भित्र्याउन सकिने स्थानीय व्यापारीहरूको बुझाइ छ। 

सामान अभावका कारण सकस

व्यापारको हिसाबमा सन्तुष्ट भए पनि ‘बोट’ को समाना नेपालमा नपाउँदा सकस हुने गरेको सञ्चालक साथै होटल व्यवसायी दिनेश पौडेल बताउँछन्। 

‘कहिलेकाहीँ बोट बिग्रिएको अवस्थामा स–साना सामान अभावका कारण सकस हुने गर्दछ,’ उनी भन्छन्, 'बोटको समान नेपालमा पाइँदैन, त्यसका लागि तेश्रो मुलुकको नै भर पर्नुपर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.