|

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।

विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताए।

‘गोरु प्रयोग गरी गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटो मसिनो बनाउन नसक्दा समस्या हुन्थ्यो‚’ उनले भने, ‘हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ। पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका छौं।’

कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि ब्लकमै आवद्ध सविनादेवी चौधरी खुसी छन्। ‘महिलाको निकै बोझ घटेको छ‚’ उनले भनिन्‚ ‘बेचेका समयमा तरकारी खेती गरेर अतिरिक्त आम्दानी हात पार्दै आएका छौं।’ यस ठाउँ गहुँ बालीजस्तै तरकारी खेतीका लागि पनि चिनिएको छ।

विगतमा हलोको प्रयोग गरी खेत जात्दा ठूलठूला डल्ला आउने गरेको थियो। महिलाहरुले डल्ला फोडनु पर्दथ्यो। डल्ला फोडने विषयमा श्रीमान् श्रीमतीबीच झगडा समेत हुने गरेको सविनाले बताइन्। ‘मनमुटाव बढ्दै जाँदा हातापातसम्म हुन्थ्यो‚’ उनले भने, ‘हलो जोत्ने श्रीमानका लागि पानी र खाना बोकेर खेतमै पुर्‍याउनु पर्ने बाध्याता थियो।’

परियोजनाअन्तर्गत ब्लकमा आवद्ध किसानले तालिम समेत पाएका छन्। रोग‚ किराको निदान गर्न र माटो सहाउँदो बउको छनौट गर्न किसान सक्षम भएका छन्। खेतमा विगतको जस्तो आकाशे पानीको भर पर्नु पर्दैन। खेत खेतमा सिँचाइका लागि पम्पसेट र विद्युतीय मोर्टर जडान गरिएका छन्।

गहुँ खेतमा छर्नेदेखि थ्रेसिङ गरी भकारीसम्म राख्ने कार्य कृषि औजार र यन्त्रको सहायताले गरिँदै आएको छ। ‘खेती लगाउन निकै समय खर्चिनु पर्दथ्यो‚’ किसान धनबहादुर चौधरीले भने, ‘पुरुषको तुलनामा महिलाहरुलाई कार्य बोझ अधिक थियो। काट्नेदेखि गहुँको दाइँ लगाउनेसम्म महिलाले गर्दै आएकोमा अब त्यो काम कृषि यन्त्र र औजारले गर्न थालेको छ।’

गोरुको ठाउँमा किसानले पावर टिलर प्रयोग गरिएको छ। प्रतिपरिवारले पहिला १० कठ्ठा जग्गामा पाँच क्विन्टलसम्म गहुँ उत्पादन लिँदै आएका थिए। अहिले उत्पादन बढेर १० कठ्ठमा १५ क्विन्टलसम्म उत्पादन हुने धनबहादुरले बताए। कृषि औजार र यन्त्रको प्रयोगसँगै समयमै सिँचाइ र उन्नत जातको बिउ प्रयोगले उत्पादनमा बढेको उनको भनाइ छ।

वडा अध्यक्ष मोहनबहादुर बस्नेत कृषि उपकरण पाइएपछि यस क्षेत्रका किसानको आर्थिक अवस्था सुधार भएको बताउँछन्। कृषिमा प्रतिवर्ष पाइने अनुदान रकमलाई गाउँका किसानले सदुपयोग गरेको उनको भनाइ छ।

‘समूह, पकेट र ब्लकमा परिणत भएका किसानले आधुनिक तरिकाले खेती गर्न जानेका छन्। यही नै खुसीको कुरा हो‚’ उनले भने, ‘थारु समुदायका बसोवास रहेको सुन्दरीफाँटाका किसान मिहिनेती समेत छन्।’

सुन्दरीफाँटालाई नाम जस्तै सुन्दर कार्यक्रम दिने सोच रहेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बताए। यस गाउँलाई गहुँ बालीसँगै तोरी र तरकारी उत्पादन बढाउका लागि कार्यक्रम सञ्चालन गर्ने उनले बताए। उनले भने‚ 'त्यसका लागि किसानलाई बाली छनौट गरी प्रपोजल हाल्नका लागि भनेका छौं।’

ब्लक समितिका सदस्य गयाप्रसाद चौधरीका अनुसार परियोजनाअन्तर्गत गठन भएको थारु गहुँ ब्लक समितिलाई गत वर्ष कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट पावर टिलर १२ वटा, पम्पसेट २३ वटा, जिरो भेटर २ वटा, विद्युतीय मोटर १३ वटा‚ जिआइ पाइप ५८४ फिट, जिइ जाली पाइप १६ वटा, बलसेट १६ वटा उपलव्ध गराइएको थियो। जसका लागि कुल रकम ४८ लाख ७८ हजार ३७५ रुपैयाँ खर्चिएको थियो। जसमा कृषि ज्ञान केन्द्रबाट २३ लाख दुई हजार ५६१ र जनश्रमदान २५ लाख ७५ हजार ८१४ लागेको थियो।

चालु आर्थिक वर्षमा बोरिङ जिआई पाइप ७० फिट, पम्पसेट इन्जन ३, जिआइजाली पाइप ३, जडान सामग्री बाल सेट ३, पावर टिलर २, रिपर ३, गहुँ चुटने थ्रेसर १, स्प्रेयर टंकी १७, जिंक मल १९३ किलो, गहुँको बीउ २३ कुण्टल, बिषादी ३५ लिटर उपलव्ध गराइएको छ। जसका लागि कृषि ज्ञान केन्द्रबाट ९ लाख ६८ हजार ९४९ र जनश्रमदान ७ लाख ७४ हजार ९४७ रकम लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.