|

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल निर्माण गरेको छ। 

बुधबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले  प्रमुख सचेतक केशव पाण्डेको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पाण्डेसहित नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन्। 

बैठकमा माधव नेपाल समूहको तर्फबाट धारण राखेकी अष्टलक्ष्मी शाक्यले अदालतको निर्णयपछि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिइन्। पार्टीलाई बलियो बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन्।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येको एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए। उक्त समूहले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो।

सर्वोच्च अदालतले नेकपा एकता बदर गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका सांसदहरुले मुख्यमन्त्री पौडेलमाथि पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.