|

काठमाडौं : काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएकोे छलफलपछि फोहोर बिसर्जनको अवरोध हटाउने सहमति भएको छ।

फोहोर विसर्जनमा अवरोध भएपछि महानगरपालिकाका प्रमुख शाक्यसहितको शुक्रबारको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा फाल्न दिने उनीहरू सहमत भएको  ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले बताए।

 ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञटोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,’ बजगाईले भने, ‘अब आजैबाट फोहोर उठ्छ।’ 

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जन गर्न दिएका थिएनन्। 

छलफलका क्रममा महानगरपालिका प्रमुख शाक्यले प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि बताए।

धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौंले पुर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रसंषा गरे।  महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीवेसीँ नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.