|

धनगढी : कैलालीको गोदावरी काठे पुल राष्ट्रिय झण्डाले सजिएको छ। सुदूरपश्चिमका पहाडका जिल्लाहरूको प्रवेशद्वार मानिने काठे पुलमा राष्ट्रिय झण्डा फहराइएको हो।

पुलमा 'थ्रिडिभिएल क्रिएसन' नामक एक संस्थाको अगुवाइमा २१ वटा राष्ट्रिय झण्डा राखिएको छ।

दशकौँ अगाडि निर्माण भएको कैलालीको पुरानो पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा पर्ने यो पुल अवलोकन गर्न दैनिक सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन्। 

जीर्ण बन्दै गरेको उक्त पुललाई 'भाइरल पुल' पनि भनिन्छ। गोदावरीका स्थानीय युवाले राष्ट्रिय झण्डाले सजाएपछि यसको झनै आकर्षण बढेको छ। पुलमा २१ वटा झण्डा राखिएको थ्रिडिभिएल क्रिएसनका अध्यक्ष दीपक ओझाले बताए। ‘गोदावरी पर्यटक लागि सम्भावना भएको क्षेत्र हो’, उनले भने, ‘त्यसले गर्दा युवाहरू मिलेर केही नयाँपन दिन राष्ट्रियता झल्किने गरी जीर्ण पुललाई झण्डाले सजाएको हो।’

पुरानो जीर्ण भए पनि पुल धेरैको रोजाइमा पर्ने गरेको स्थानीय भुवनेश्वरी पाण्डेले बताइन्। ‘पुल कयौँ वर्ष पुरानो हो’, उनले भनिन्, ‘सँगै पक्की पुल निर्माण भएपछि ८ वर्ष यता उक्त पुलमा  यातायातका साधनहरू जान बन्द गरिएको छ। तर, यहाँ पुगेपछि काठको पुलमा नपुग्ने कोही हुँदैनन्।’ पुलको रङरोगन गरेमा अझ आकर्षण बढ्ने उनले बताइन्।

जीर्ण पुल हेर्नकै लागि गोदावरी अहिले पिकनिक ‘स्पट’ का रूपमा पनि यो क्षेत्र परिचित हुँदै गएको छ। यो पुलमा युवायुवती मात्र नभई सपरिवार शनिबार वा बिदाका दिन पारेर पुग्ने गर्छन्। अचेल बच्चाबच्ची, युवायुवती, दम्पतीहरू पनि टिकटक र सामाजिक सञ्जालमा फोटो र भिडिओ बनाउनै भनेर पनि आउँछन्। त्यसैले यहाँ मान्छेको भिड नै जम्मा भएको हुन्छ।

गोदावरी क्षेत्र अत्तरिया बजारदेखि सात किमि दुरीमा पर्छ। गोदावरीबाट सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा सुरु हुन्छ। गोदावरीमा हरेक १० वर्षमा एक महिनासम्म कुम्भ मेला लाग्ने भएकाले पनि यसको धार्मिक महत्त्व बढी छ। यहाँ विभिन्न मठमन्दिर र शक्ति पीठहरूका साथै नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ।

गोदावरी क्षेत्रभित्र पछिल्लो समय क्रमिक रूपमा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दो छ। अझ गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी तोकिएपछि यो क्षेत्रको महत्त्व अझै बढेको छ।

टिकटक र सामाजिक सञ्जालमा भाइरल

काठे पुल टिकटक र सामाजिक सन्जालमा निकैभाइरल बनेको छ। आजकल पुलमा भिडिओ खिच्ने, फोटो, सेल्फी लिनेहरुको घुइचो नै हुने गर्छ। गोदावरीमा घुमघाम गर्न, यताको भ्युहरू हेर्नुको मज्जा बेग्लै भएको धनगढीकी बीना शाही बताउँछिन्। उनले  भनिन्, ‘यो पुलमा टिकटक बनाउन र फोटो खिच्न यहाँ थुप्रै मान्छे आउँछन्। यहाँ रिसोर्टहरू अनि पुल भएको रमाइलो ठाउँ रहेछ। मलाई टिकटकमा भाइरल हुन मन छ। यो ठाउँमा बनाएको टिकटक भाइरल हुन्छ।’ 

पुरानो काठे पुलमा फोटो पनि राम्रो आउने र दृश्य अवलोकन गर्न पनि सहज हुनाले यहाँको धेरै महत्व रहेको शाहीले बताइन्। गोदावरीका बारेमा अझै जानकारी गराउन सके आन्तरिकसँगै बाह्य पर्यटक पनि आउने उनको विश्वास छ। सुदुरपश्चिमका नौ वटै जिल्ला र भारतका केही ठाउँबाट पनि पर्यटक यहाँ आउँछन्।

पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य

गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदका अनुसार गोदावरी क्षेत्रलाई व्यवस्थित पारेर पर्यटक र दर्शनार्थी संख्या बढाउन डिपिआर तयारी भइरहेको छ। 

उनले भने, ‘हामी डिपिआर प्रक्रियामा छौं। गोदावरीदेखि बुढीतोलासम्म पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य छ।’ पुरानो काठे पुल मर्मत–सम्भारका लागि भने सडक बोर्डसँग समन्वय गरेर लगानी ल्याउने योजना रहेको पनि उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.