|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिमा बिस्काः (बिस्केट) जात्रा नरोकिने बताएका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै भक्तपुरको प्रसिद्ध जात्रा नरोकिने बताएका हुन्।

यता‚ प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को चैत्र २२ गते बसेको ४५ बैठकले कोरोना भाइरस संक्रमण जोखिमलाई कारण देखाउँदै बिस्काः जात्राको अवसरमा भैरवनाथको रथ तान्न र लिंगो ठड्याउन नदिन नदिने निर्णय गरेको छ। बैठकले जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको छ। त्यसैगरी बैठकले मध्यपुर थिमिमा मनाइने जिब्रो छेड्ने र सिन्दुर जात्रा समेत रोक्न निर्णय गरेको छ।

तर‚ नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको बोडेमा मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा र थिमि क्षेत्रमा मनाइने सिन्दुर जात्रा विश्वको गौरवको रहेको बताउँदै कोभिडको संक्रमणकाबीच सचेतना र सतर्कतापूर्वक सभ्य र भव्यरुपमा मनाउन आग्रह गरेका छन्।

उनले जात्राको अवसरमा अनावश्यकरुपमा होर्डिङ बोर्ड, फ्लेक्सहरु नराख्न अनुरोध गरेका छन्। जात्रामा हुने भिडभाडमा छालाको जुत्ताले धेरैलाई चोटपटक लाग्ने गरेकोले कपडाको जुत्ता लगाएर जात्रामा सहभागी हुन पनि आग्रह गरे। जात्रामा सिन्दुर एकआपसमा मात्र लगाउन, दर्शकहरुलाई नछ्याप्न, जबरजस्ती कसैलाई सिन्दुर छ्याप्न कार्य नगर्न र उछृङ्खल गतिविधि नगर्न आग्रह समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.