|

गुल्मी : गुल्मीमा करिब दुई हजार हेक्टर क्षेत्रफलको जंगल डढेलोका कारण नष्ट भएको छ।

जिल्लाका विभिन्न सामुदायिक वनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए।

उनका अनुसार मदाने क्षेत्रका जंगल, मुसिकोट,रेसुङगा, धुर्कोट, इश्मा ,कालीगण्डकी क्षेत्रका जंगलमा डढेलो लागेको हो। प्रायः व्यक्तिले खरबारीमा आगो लगाउँदा डढेलो फैलिँदै जंगल क्षेत्रमा प्रवेश गर्ने गरेको पाइएको छ। 

डढेलो नियन्त्रण गर्न स्थानीय, कार्यालयका कर्मचारी, जिल्लाका सुरक्षा निकाय लागिपरेका सापकोटाले बताए। 

वन डढेलो र आगलागी हुन नदिन डिभिजन वन कार्यालय गुल्मीले प्रचार प्रसार र सन्देशमूलक जानकारी गराउँदै आएको कार्यालयले जनाएको छ। स्थानीय रेडियो, पत्रपत्रिका,टेलिभिजनमार्फत वन डढेलो र यसका असरबारे सन्देशमूलक सूचना प्रकाशन र प्रसारण गर्दै आएको कार्यालयले जनाएको छ। 

आगो निभाउने क्रममै ११ जनाको ज्यान गइसक्यो

२०६६ साल वैशाख १२ गते हस्तीचौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा साविक वडा–३ का ५ जनाको घटनास्थलमै ज्यान गएको थियो। यसरी ज्यान स्थानीय रामलाल घिमिरे, अमर बहादुर कुँवर, देवकली खत्री, सीता कुँवर, धनकली खत्रीको जलेर मृत्यु भएको थियो। 

यस्तै साबिकको बडागाउँ गाविसको तिलेहार सामुदायिक वनमा २०६६ साल वैशाख ५ गते आगो निभाउने क्रममा घाइते भई उपचार क्रममा वैशाख १० गते बडागाउँ–८का गोपाल सुनारको ज्यान गयो।

२०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाविस–१ का कमल खड्काको कीर्तिपुर अस्पताल काठमाडाैंमा उपचार क्रममा २०७३ वैशाख ११ गते ज्यान गएको थियो।

यस्तै २०७३ साल वैशाख १७ गते दोहोली गाविस जलुकी खोला वनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरुङको घटनास्थलमै ज्यान गएको थियो भने गम्भीर घाइते वडा नं ६ कालोक बहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। 

यस्तै २०७३ साल वैशाख १८ गते वडागाउँ गाविस–१ को कर्लाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको थियो।

यस्तै यही चैत २० गते घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका–७ वाग्लाकी ९ वर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक वनमा लागेको डढेलोका कारण मृत्यु भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.