|

काठमाडौं : कमलपोखरीमा काठमाडौं महानगरपालिकाले मेलम्चीको २० लाख लिटर पानी हालेको छ। साथै निर्माणाधीन पोखरीको ८५ प्रतिशत काम सकिएको महानगरले जनाएको छ।

महानगर प्रमुख विद्यासुन्दर विद्यासुन्दर शाक्यले पोखरीमा मेलम्चीको करिब २० लाख लिटर पानी हालेको जानकारी दिएका छन्। शाक्यले सोमबार पुनःनिर्माण भइरहेको पोखरीको निरीक्षण गरेका थिए। उनका अनुसार पोखरीको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए। ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भइरहेको छैन,’ शाक्यले भने, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन। के–कति काम भएको छ। त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला।'

शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

शाक्यले कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए। पहिला बेवारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको उनले प्रस्ट पारे।

प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ताभित्र पुनःनिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिटौलाले चैत मसान्त भित्र काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण बिदा बसेकाले केही दिन ढिलाइ भएको जानकारी दिए।

‘करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब फिनिसिङ र बत्तीलगायतका काम बाँकी छ। त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ।’

करीब ६ करोड ३६ लाखको लगानीमा उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.