|

विराटनगर : आहा–रारा गोल्डकप विजेता संकटा ब्याइज स्पोर्टिङ क्लब विराटनगरमा जारी छैटाैं विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। 

विराटनगरस्थित सहिद रंगशालामा  मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। 

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

विराट गोल्डकपको पूर्वविजेता संकटालाई खेलको ६१ औं मिनेटमा गणेश हमालको गोल निर्णायक बन्यो। संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिदिएको पास गणेशले हेडमार्फत जाली चुमाए।

खेलको पहिलो हाफमा क्यामरुनका लागि निकै संघर्षपूर्ण बन्यो। क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन। खेलको १३ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेलान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए।

संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनका गोलरक्षक डिए स्यालबियो बाधक बने। ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिँदा गोल हुन सकेन। खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो। 

दोस्रो हाफपछि आक्रमक भएको क्यामरुनले खेल बराबरीमा ल्याउन अनेक प्रयास गरे पनि सफल हुन सकेन। खेलको ५८ औं मिनेटमा क्यामरुनका माफोमाले गरेको कडा प्रहार गोलरक्षक राजुबाबले विफल पारिदिए। खेलको ८९ औं मिनेटमा क्यामरुनका फ्बराइसले पेलान्टी एरियादेखि गरेको प्रहार बाहिरिँदा पाहुना टोली बाहिरिन बाध्य भयो। 

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा जित हासिल भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.