|

बझाङ : जयपृथ्वी नगरपालिका-१, कैलाश गाउँको एक चौरमा स्थानीय बालबालिकादेखि बूढापाकासम्म जम्मा भएका थिए। महिलाहरूको हातमा विभिन्न सामान राखिएका रंगिन प्लाष्टिक देखिन्थ्यो।

बालबालिका, युवा तथा बूढापाका पुरुषहरूले हातमा भिन्न रङले सिँगारिएका लट्ठीहरू समातेका थिए। बालबालिकाहरूको छुट्टै जमात थियो।

केही युवाहरूले च्यातिएको लुगा त कसैले हरिया पालाहरू भाँचेर बोकिरहेका थिए। सबैले सामान जम्मा गरेपछि दुईजनालाई बाघजस्तो हुन लगाइयो। 

मुखमा रोटी हाल्ने चिउरो (छाप्रो), मार्करले बनाएका काला लामा-लामा दाह्रीजुङ्‌गा, बाबियोको पुच्छर, च्यातिएका लुगा, अनुहार नदेखिने गरी हरिया पालाले छोपेको पूरै जिउ ढकमक्क बनाइएको थियो।

अनुहार नदेखिनेगरी बाघजस्तै बनाएका दुईजना ती व्यक्तिहरूलाई बीचमा राखेर अगाडि-पछाडी गाउँलेहरू हिँडेका थिए। बाघ बनेका ती व्यक्तिहरूले गाउँलेलाई खेद्ने गर्थे। गाउँलेहरू डरले भागभाग गर्थे। फेरि सबै एकै ठाउँमा आउँथे।

सो हुल अझै अघि बढ्यो। सबैले 'बाघ आयो भाग! बाघ आयो भाग!' भनेर कोलाहल मच्चाए। बाघ बनेका ती व्यक्तिहरू नजिकै रहेको विद्यालय हाताभित्र प्रवेश गरे।

चौरको चारैतिर गोलघर जस्तो बनाएर, लट्ठीहरू गाडेर भित्र पस्ने एउटामात्र ढोका जस्तो छाडिएको थियो। उक्त गोलघरभित्र ती बाघहरूलाई खानका लागि दही र चामल मिसाएर भिजाएका चामलहरू फरक-फरक ढुंगामा राखिएका थिए। त्यत्तिकैमा एकजना व्यक्ति आएर बाघ मानिएका ती १ जना व्यक्तिसँग लामो समयसम्म लड्ने प्रयास गरे, तर नसकेपछि उनी बाहिरिए। 

बाघले आफ्नो आहाराको लागि राखिएका सबै दही चामल त्यहाँ भएका सबै मानिसहरूलाई आफूले जुठो बनाएर खुवाउने प्रयास गर्थे। तर, ती व्यक्ति आउनासाथ सबैजना पर पुग्थे। केही समय त्यस्तै चलिरह्यो। बाघ भएका व्यक्तिहरू केही समयपछि विद्यालय हाता बाहिर गए।

अनि सबै पुरुषहरू जम्मा भएर 'धिर...धिरी...धिर...धिर ...!' भन्दैसिंगारिएका ती लट्ठीहरू औँलामा लामो समयसम्म राख्ने प्रतिष्पर्धा गरे। फेरि सबै लट्ठीहरू विद्यालयको चौर बाहिर फाले।

चौमथा भन्ने ठाउँ तथा गाउँका पुराना मुखियाको घरबाट बाजागाजासहित बेहुली बोक्ने डोली जस्तै बोकेर डाँडातिर लागिन्छ। नयाँ वर्ष आउन लागेको चार दिन अगाडि गाउँका केटी मान्छेहरू गाउँकै वनमा गएर गुन्यौचोली लगाएका कपडाका मानिस बनाउँछन्‌।

नयाँ वर्ष लाग्नुभन्दा चार दिनअघि दाल, चामल तथा नयाँ-नयाँ परिकारहरू बनाएर ती बुख्याँचाहरूलाई खुवाउँछन्‌। त्यो दिनबाट वैशाख १ गते सम्म राति-राति देउडा खेल खेल्छन्।

१ गते देउडा खेल्दाखेल्दै एक बेहुला र एक बेहुली बनाएर गाउँकै चौमथामा बाजा गाजासहित टिका टालो गरिन्छ। चार दिनअघि बनाइएका ती नमूना मानिस तथा पुल्तीहरू गाउँ नजिकैको कुवामा लगेर 'चाह चाह' भन्दै सेलाउने प्रचलन रहेको स्थानीय महलबहादुर सिंहले बताए।

पुल्ती सेलाउनासाथ एउटा ढुंगा समातेर कस्ले टाढा फाल्न सक्छ भनी प्रतिष्पर्धा हुन्छ। जस्ले टाढा फाल्यो, त्यो नै बलियो रहेको घोषणा गर्ने प्रचलन छ। साथै, गाउँमा टाढा-टाढाबाट दिदीबहिनीहरू माइतीघर र देश-विदेशबाट दाजुभाइ घर आएर भलाकुसारी गरी मीठा परिकार बनाएर खाने गरिन्छ।

परापूर्व कालदेखि बाघ बनाएर मानिसहरूले बाहिरसम्म खेदाएपछि वर्षभर आफ्ना पशु चौपायाहरूलाई बाघ लाग्दैन भन्ने जनविश्वाससाथ बिसु पर्व यसरी मनाउने चलन रहेको स्थानीय विजबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.