|

आखलढुंगा : आगलागीबाट ओखलढुंगाको लिखु गाउँपालिका–८ मा तीनवटा घर जलेर नष्ट भएका छन्। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसहित वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीन घरगोठ जलेर नष्ट भएका हुन्।

बिहीबार राती हावाहुरीसहित आएको वर्षासँगै चट्याङ पर्दा भञ्ज्याङमा रहेको गोविन्दबहादुरको घरमा राती १ बजे जलेको प्रहरीले जनाएको छ। चट्याङका कारण विजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभएपनि नगद तीन लाखसहित ५० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए। गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको घर एल आकारमा जोडेर बनाइएको थियो।

उनीहरूको त्यो घरसँगै भुकम्पपछि बनेको अर्को नयाँ घरसमेत चट्याङबाट क्षतिग्रस्त भएको छ। यस्तै जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा आगलागी हुँदा दुई घर जलेका छन्।

स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर र एक मतान तथा छिमेकी कृष्ण बहादुर राईको घर र मतान समेत जलेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ। आगलागीबाट दुई परिवारको २७ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

मानेभञ्ज्याङमा आगो लागेको यो तेस्रो पटक हो। यसअघि दुई पटक वडा नम्बर–४ को वन क्षेत्रमा भीषण आगो लागेको थियो। जिल्लाभर दुई दर्जन बढी स्थानमा आगलागी भएका छन्। घर तथा धनमाल र हजारौं हेक्टर वन क्षेत्रसमेत जलेर सखाप भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.