|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा संचालित महाकुम्भ मेलामा सहभागी भएर आइतबार अपरान्ह नेपाल फर्किएका छन्। करिब दुईसाताको तीर्थयात्रा सकेर आइतबार दिउँसो उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई स्वागत गर्नेको भिड लागेको थियो।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन उनी चैत २६ गते बिहीबार भारत गएका थिए। यो संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ। शाहले मंगलबार गंगास्‍नान गरेका थिए। त्यहाँ पूर्व राजालाई हिन्दू सम्राटका रुपमा निक्कै भव्य ढंगले स्वागत आतिथ्य र विदाई गरिएको थियो । त्यहा उनले बिशेष अतिथिका रुपमा सम्वोधन पनि गरेका थिए ।

पूर्वराजा सहभागी भएको महाकुम्भ मेलामा  कोरोना संक्रमण उच्च देखिएको छ। उनी सहभागी मेलामा कोरोना संक्रमण देखिएपछि पूर्वराजाले भारतमै पिसिआर परीक्षण गरेर आएको पूर्व-राजाका सहयोगी फणिराज पाठकले बताए। उनले भने, ‘उहाँको उतै पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि आउनुभएको हो, यहाँ पनि केही समय होम क्वारेन्टाइनमा रहनु हुनेछ।'

१० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.