|

ओखलढुंगा : प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङबाट ८४ र ओखलढुंगाबाट ८८ खेलाडी सहभागी हुने भएका छन्। १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत दुई जिल्लाबाट १ सय ७२ खेलाडी प्रदेशस्तरीय खेलमा सहभागी हुने भएका हुन्। 

शुक्रबारदेखि प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी पठाउने उद्देश्यका साथ खोटाङमा दिक्तेलस्थित माटीकोरे र ओखलढुंगाको खिजीफलाटे खेलमैदानमा खेलसमेत सुरु भएको छ।

खोटाङमा प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिका गरी पाँच स्थानीय तहका खेलाडी मात्र सहभागी भएका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले बताए।

१० स्थानीय तह रहेको जिल्लाका केपिलासगढी, साकेला, जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकाका खेलाडी उक्त प्रतियोगितामा सहभागी नभएका उनको भनाइ छ।

साकेला गाउँपालिकामा भएको गाउँपालिकास्थरीय छनोट प्रतियोगितामा सहभागीबीच झडप भएपछि गाउँपालिकास्थरीय प्रतियोगिता नै स्थगित भएको थियो। 

पर्याप्त बजेट नभएका कारण देखाउँदै जिल्लास्तरीय प्रतियोगितामा सहभागिता नजनाएका जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न भनी एउटा स्थानीय तहमा एक लाखमात्र बजेट आउने गरेको तर उक्त रकमले खेल सञ्चालन गर्न धौधौ भएका कारण स्थानीय तहले सहभागिता नै नजनाएका चाम्लिङको भनाइ छ। 

ओखलढुंगामा पनि जिल्लास्तरीय प्रतियोगिता जिल्लाको खिजीदेम्वा गाउँपालिकामा भई रहेको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख बालकुमार खनालले बताए।

उनका अनुसार ओखलढुंगाबाट ८८ खेलाडी ओखलढुंगाबाट सहभागी हुनेछन्। १२ औँ संस्करणको जिल्लास्तरीय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।

दुवै जिल्लामा जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्सगरी पाँच विद्यामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

जिल्लाका लिखु, चम्पादेवी र खिजीदेम्वा गाउँपालिकाले मात्र यो वर्ष प्रतियोगितामा सहभागिता जनाएका छन्। पालिका, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी सहभागी गराउन कम्तीमा पनि पाँच लाख रुपैयाँ बजेट आवश्यक पर्ने देखिन्छ तर बजेट १ लाख मात्र हुँदा स्थानीय तहलाई खेलाडी सहभागी गराउन समस्या भइरहेको छ।

जिल्लास्तरीय प्रतियोगिताअन्तर्गत सबै विद्याका उत्कृष्ट खेलाडी छनोट गरेर ओखलढुंगाबाट ८८ र खोटाङबाट ८४ जना खेलाडी प्रदेश नं. १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.