|

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी  गरेका छन्। 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै उनले हिटलर शैली अपनाएको बताएका हुन्। 

प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याइदिएको पनि नेपालको टिप्पणी छ। यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजन मण्डली बनाएको नेता नेपालको आरोप थियो । 

आफ्नो आदेशअनुसार काम गर्ने भजन मण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलरजस्तै पतन भएर जाने पनि उनले बताए। ‘हाम्रै देशमा कतिपय नजितुन्जेलसम्म ठुल्ठूला कुरा गर्छन् जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्‍याङ चढेका हुन्छन् त्यो भर्‍याङलाई लात्तीले पुक्क हानेर हिर्काएर फालिदिन्छन् र पुक्क फालिएकाहरू सडकमा पछारिन्छन् त्यसपछि उनीहरु बिजोग हुने स्थितिमा पुग्न खोज्छन् ।' उनले भने, 'तर आँटिलाहरु फेरि उठ्छन्, धुलो टकटक्याएर फ्रेस भएर अगाडि बढ्छ।’

राम्रो के हो,नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजन मण्डली बनाएर भजन मण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन त्यो कुप्रचार हुन पुग्छ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । किन भने हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो। हिटलरसँगै एउटा अध्याय समाप्त भयो।’

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताए । यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाए । तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने पनि बताए। 

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए। अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पारे । तर प्रतिगमनले फेरी सताएको पनि नेता नेपालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.