सिडिओ र जिल्लाका प्रहरी प्रमुखले पनि मानेनन् सरकारको निर्देशन

|

बाग्लुङ : बागलुङको कालिका भगवती मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। कोरोना महामारीबीच चैत्र अष्टमीको अवसर पारेर कालिका दर्शन गर्न देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन्।

उक्त मन्दिरमा वार्षिक ६ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेका थिए। गत वर्ष भने कोरोना महामारीका कारण मन्दिर बन्द रहेका थियो। यस वर्ष पनि चैत्र अष्टमीको दुर्गा सुरू भएसँगै घुइँचो बढेको छ। सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कालिका मन्दिरमा मंगलबार बिहानैदेखि सयौं भक्तजन दर्शनका लागि आएका छन्।

भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी हुन गुठीले आग्रह गरे त्यो कायम भएको छैन। सार्वजनिक सूचना जारी गरेका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगर समेत कालिका मन्दिरमा पूजा गर्न पुगेका थिए।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको शक्तिपीठ भएकाले बडादशैं र चैतेदशैंमा यस कालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। मंगलबार मात्रै झण्डै १५ हजार भक्तजन पुगेका अनुमान छ। पूजापाठ र बलिका लागि समेत छिटो छरितो बनाइएको अध्यक्ष राजु खड्काले बताए। कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ज्वरो नापेर मात्रै भक्तजनलाई मन्दिर प्रवेश गराइएको उनले बताए। तर‚ भक्तजन भने सरकारले तोकेको मापदण्ड अपनाएका छैनन्।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विसं १५९१ सालमा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकीले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको बताइन्छ। त्यसपछि कालिकाको नियमित पूजा भइरहेको इतिहासमा उल्लेख छ।

कालिका मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने लगायतका विश्वास गर्छन्। अहिले बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, लगायत देशभरका विभिन्न स्थानबाट कालीका प्रति धेरै विश्वास मान्नेहरू दर्शन गर्न आउने गर्छन्। भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए।

वडादशैं र चैतेदशैंमा कालिका मन्दिर क्षेत्रमा ठूलो मेला लाग्छ। यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.