|

चितवन : माडी नगरपालिका वडा नं ९ कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाम क्षेत्रमा राम मन्दिर स्थापनाका लागि काठमाडौँबाट राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आज साँझ तनहुँको देवघाट ल्याएर राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनाएर राखिएका मूर्तिहरू काठमाडौँमा विशेष पुजाअर्चना गरेर देवघाट ल्याएको हो।

मूर्तिहरूलाई प्रधानमन्त्री ओलीले आज विहान ९ बजे विदाई गरेका हुन्। मूर्तिहरूलाई भोलि माडी लगिनेछ। गाडीहरूको लावालस्करसहित आएको सीताराम शोभा रथयात्रालाई भरतपुर महानगरपालिका–२९ दासढुंगाबाट देवघाट लगिएको हो। संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा देवघाट गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको हो। श्रद्धालुहरूले नाचगान सहित मूर्तिहरूको स्वागत गरेका हुन्। 

दासढुंगाबाट देवघाट गाउँपालिका प्रवेश गरेपछि रथयात्रालाई बाटोमा छेउहरूमा कलशहरूले स्वागत गरिएको थियो। मूर्तिहरूलाई देवघाटको गलेश्वर आश्रम परिसरमा रहेको सिद्धेश्वर मन्दिरमा लगेर राखिएको छ। मूर्तिहरूलाई देवघाट पुर्‍याएपछि श्रद्धालुहरूलाई सम्बोधन गर्दै पर्यटनमन्त्री ढकालले रामको जन्म नेपालमै भएको भन्ने तथ्यहरू धेरै रहेको र त्यसलाई पुष्टि गर्न पनि सकिने बताए।

रामको जन्म भारतमा भएको भन्ने विषयमा कुनै तथ्यहरू नरहेको भन्दै उनले नेपालमा नयाँ अध्याय सुरु भएको बताए। ‘राम भारतमा जन्मिएका हुन् भन्ने कुरालाई भारतले पनि पुष्टि गर्न सकेन’, उनले भने, ‘हामीले पुष्टि गर्न सक्छौँ। हामीसँग धेरै तथ्यांक छन्।’

भगवान राम नेपालका ज्वाइँ हुन भन्ने भ्रम हटाउन पनि उनले आग्रह गरे। सीतागुफा देवघाटमै छ। भगवान् राम पनि नुहाउन देवघाट आउने गरेका धार्मिक शास्त्रमा उल्लेख गरिएको छ।

भोलि कालिगण्डकी र त्रिशुलीको संगमस्थल वेनीबाट एक हजार ८ कलशमा जल ल्याएर मूर्तिहरूको अभिषेक गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताए। अभिषेकपछि बिहान ७ बजे कलशयात्रा सहित मूर्तिलाई पुनः दासढुंगा हुँदै नारायणगढ–हाकिमचोक पुर्‍याएर विदाई गरिने उनले बताए।

रथयात्रामा आएका करिब एक हजार श्रद्धालुलाई समितिले नै खान र बस्ने व्यवस्था गरेको छ। रथयात्रा माडी पुगेपछि कलशयात्रासहित माडी–९ कृष्णनगरमा लगेर राम मन्दिर स्थापना गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.