|

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। 

प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। 

कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदारीका लागि सहमति भएका अन्य तीन दलसँग छलफल गरेको थियो। कांग्रेसको नेतृत्वमा सरकार गठनबारे थप रणनीति बनाउन आज पनि छलफल गर्न लागिएको नेपाली कांग्रेसका तर्फबाट वार्ता टोलीका संयोजक कुमार खड्काले जानकारी दिए। कांग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ। 

यसैबीच गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको कार्यसूची र तयारीबारे छलफल गर्न आज कार्यव्यवस्था परामर्ष समितिको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.