सीमित आइसोलेसन र क्वारेनटाइन, पालिकामा बजेट नहुँदा झन् अलमल

|

पर्वत : कोरोना संक्रमण फैलिएपछि गत आर्थिक वर्षमा जिल्ला सदरमुकाम कुस्मा बजार सहित स्थानीय तहमा पनि विद्यालयहरूलाई नै क्वारेनटाइन र आइसोलेसनको रूपमा प्रयोग गरिएको थियो।

संक्रमण दर कम हुँदै गएपछि होटलहरुमा राखिएका पुलिङ क्वारेनटाइन हटाइएका छन् भने विद्यालय सुचारु भएपछि विद्यालयमा राखिएका आइसोलेसन वार्ड र क्वारेनटाइन पनि हटाइएका छन्।

भारत तथा तेस्रो मुलुकबाट आएकाहरूलाई राख्नको लागि सदरमुकाम कुस्मा बजारमा जिल्लाका सात ओटै स्थानीय तहको लगानीमा शिवालय मावि कुस्मा, वन्दना होटेल कुस्मा र ब्लु एन्जल रिसोर्टमा राखिएका पुलिङ क्वारेनटाइन र गुप्तेश्वर बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल निर्माण गरिएकोमा ती सबै ठाउँमा अहिले पूर्व कार्यक्रमहरू चलिरहेका छन्।

तर कोरोनाको दोस्रो लहर आक्रामक शैलीमा चलेसँगै जिल्लामा आवश्यक पर्ने क्वारेनटाइन, आइसोलेसन र कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट अभाव देखिएको छ। एक दुई ओटा स्थानीय तहबाहेक अन्य सबै अलमलमा परिरहेको अवस्था छ।

सदरमुकाम समेत रहेको कुस्मा नगरपालिकाले पर्वत अस्पतालसँग सहकार्य गरेर २५ शय्याको आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्न लागिरहेको छ। सोमबार मात्र पर्वत अस्पतालसँग यस विषयमा कुरा गरेर काम अगाडि बढाइएको मेयर रामचन्द्र जोशीले बताए।

अघिल्लो वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक करोड रुपैयाँ विनियोजन गरेकोमा यस वर्षका लागि भने स्टकमा पैसा राखिएको छैन। तर अब बजेट आवश्यक परेमा केही योजनाहरूलाई स्थगन गरेर भए पनि रकमान्तर गरेर महामारी नियन्त्रणमा लाग्ने योजना रहेको मेयर जोशीको भनाइ छ।

यस्तै पैयुँ गाउँपालिकामा सरकारले तोकेबमोजिम पाँच शय्याको अस्थायी अस्पताल निर्माण गरेर आइसोलेसनको व्यवस्थापन गरिएको छ। ज्येष्ठ नागरिकलाई बस्नका लागि निर्माण गरिएको दिवा सेवा केन्द्रमा विस्तारा व्यवस्थापन गरेर १० जनासम्म राख्न मिल्ने गरेर क्वारेनटाइनको व्यवस्थापन गरिएको लेखा अधिकृत सरोज पराजुलीले बताए। पैयुँमा भने थप विपद् आउन सक्ने भन्दै चालु आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ बजेट जगेडा राखिएको छ।

कोरोनाको पहिलो चरणमा कुस्मा नगरपालिकापछि बढी प्रभावित देखिएको जलजला गाउँपालिकामा अहिलेसम्म क्वारेनटाइन र आइसोलेसन तयारी नभएको तर अब २० बेड क्षमताको क्वारेनटाइन र ७ बेड क्षमताको आइसोलेसन तयारी गर्ने सुरसार भइरहेको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) बताउँछन्।

पालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट नभएको तर आवश्यक परेको अवस्थामा अन्य योजनाबाट रकमान्तर गरेर भए पनि विपद् नियन्त्रणमा लाग्ने मल्लको भनाइ छ।

मोदी गाउँपालिकाले क्वारेन्टाईनको रूपमा स्थानीय एक विद्यालयलाई प्रयोग गरेको थियो। विद्यालय सुचारु भएपछि त्यहाँबाट क्वारेनटाइन हटाइएको छ। तत्कालका लागि क्वारेनटाइन नभएको भए पनि अब पुन विद्यालय बन्द भएकाले विद्यालय र स्वास्थ्य संस्था गरेर एक सय जना अटाउन सक्ने क्वारेनटाइन र ५० बेड क्षमताको आइसोलेसन बनाउने गरी काम गर्न सुरसार गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए।

उनका अनुसार अघिल्लो वर्ष कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिकाले डेढ करोड खर्च गरेको थियो। त्यो बेलामा किनेका बेड बिस्तारा अहिलेका लागि पनि तयार रहेको तर छुट्याइएको बजेट नभएकाले परि आएमा रकमान्तर नै विकल्प भएको उनले बताए। 

जिल्लाको महाशिला गाउँपालिकामा पाँच बेड क्षमताको आइसोलेसन र १५ बेड क्षमताको क्वारेनटाइन रहेको प्रवक्ता जीवन विक्रम उचै बताउँछन्। महाशिलाले अघिल्लो पटक कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त १० लाख रुपैयाँ नचलाई राखेको छ भने पालिकाको तर्फबाट विनियोजन भएको मध्ये पाँच लाख रुपैयाँ बजेट बाँकी छ।

यस्तै फलेवास नगरपालिकाका स्वास्थ्य संयोजक रुद्र सापकोटाका अनुसार फलेवासमा पाँच जना राख्न सक्ने आइसोलेसन वार्ड तयारी अवस्थामा छ। तर क्वारेनटाइन भने नभएको अवस्था छ।

पहिले क्वारेनटाइनका रूपमा प्रयोग गरिएका विद्यालयमा पढाइ सुचारु भएपछि अवस्था अलमलको छ। जिल्लाको बिहादी गाउँपालिकामा पाँच बेड क्षमताको आइसोलेसन तयारी अवस्थामा रहेको भए पनि क्वारेनटाइनको व्यवस्था भने नभइसकेको गाउँपालिकाका प्रमुख कमल भुसालले बताए।

सङ्क्रमित भेटिएमा उनीहरूलाई सुरक्षा सतर्कतासहित होम क्वारेनटाइनमा नै राख्ने पालिकाको योजना छ। बिहादीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघिल्लो र चालु आर्थिक वर्षमा भएको विनियोजनबाट ३० लाख रुपैयाँ बाँकी रहेको र आवश्यक परेमा रकमान्तर गरेर नै खाँचो टार्ने अवस्था रहेको भुसाल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.