|

मकवानपुर : एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेको विभिन्न तीन मन्त्रालयमा नियुक्त गरेका मन्त्रीले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

मन्त्री नियुक्त भई शपथग्रहण गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत रहेका छन्। यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले शपथग्रहण गराएका छन्।

मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त हुनेहरू एमालेको प्रधानमन्त्री ओली पक्षको मात्रै भएको बुझिएको छ।

तत्कालीन नेकपा विवादका कारण १० पुसमा केपी ओली पक्षका मुख्यमन्त्रीविरुद्घ प्रचन्ड– नेपाल पक्षका ४५ जना सांसदले अविश्वासको प्रस्ताव राख्नुअघि सरकारमा रहेका आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए। मन्त्री पदबाट राजिनामा दिएर मुख्यमन्त्री विरुद्घ अविश्वासको प्रस्ताव राखेसंगै करिब चार महिना मन्त्रीविहीन बनेको मन्त्रालयले आज मन्त्री पाएको हो।

पदबाट राजिनामा गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ती नगरी मुख्यमन्त्री पौडेल आफैंले जिम्मेवारी सम्हाल्दै आएका थिए।

मन्त्रालयलाई मन्त्रीविहीन राखेर सरकारलाई कामविहीन बनाएको आरोप खेपिरहेका बेला मुख्यमन्त्री पौडेलले सरकारमा मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका छन्।मन्त्री बन्ने चर्चामा रहेका काभ्रेका चन्द्र लामा र राज्यमन्त्रीमा चर्चा पाएकी मकवानपुरकी जुनेली श्रेष्ठको नाम भने चर्चामै सीमित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.