|

बैतडी :  दोगडाकेदार गाउँपालिकाले अक्सिजन सिलिण्डरसहित आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको छ। नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि रोकथाम तथा नियन्त्रणको लागि बैतडीका स्थानीय तहहरूले तयारी थालेका हुन्।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरि अक्सिजनसहितको १३ बेडको आइसोलेसन कक्ष निर्माणको तयारी भएको हो। गाउँपालिकाको वडा-३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा- ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको स्थापनाको तयारी भएको हो।

अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय भएर कार्ययोजनामा राखिएको छ। उनले भने,‘अक्सिजन सिलिण्डर खरिदको प्रक्रिया सुरु भइसकेको छ तर, सिलिण्डर अभावका कारण अहिलेसम्म खरिद गर्न सकिएको छैन्।’

कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेकाले संक्रमित भएर गम्भीर बिरामी भएमा त्यसको स्थानीय स्तरमै उपचारको लागि तयारी भएको नाथको भनाई छ। उनले भने,‘कोरोनाका गम्भीर बिरामीलाई स्थानीय स्तरमै उपचारका लागि हामीले तयारी थालेका हौं।’ 

यसअघि दोगडाकेदार गाउँपालिकामा अस्थायी कोभिड १९ अस्पताल स्थापना गरिसकेको छ। श्रीकोट स्वास्थ्य चौकीमा ५ बेडको अस्थायी अस्पताल स्थापना गरि एकजना एमबीबीएस डाक्टर समेत नियुक्त गरिसकेको छ। 

पछिल्लो समय भारतबाट घर फर्किनेको संख्या बढ्दै गएकोले गाउँघरमा पनि संक्रमणको जोखिम बढ्ने खतरा बढेको छ। बैतडीमा हालसम्म एक सय ८८ जनामा संक्रमण पुष्टि हुँदा  एक जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.