|

सल्यान : कोरोना संक्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माण गर्न थालेका छन्।

नयाँ भेरियन्टसहित कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका स्थानीय तहहरूले अक्सिजनसहित आइसोलेसन निर्माणमा सक्रिय भएका हुन्। 

बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजनसहित आइसोलेसन निर्माण गरेका छन्। बनगाड कुपिण्डेले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५, छत्रेश्वरीले १०, सिद्ध कुमाखले अक्सिजनसहित ११ र नर्मल १२ गरी २३ र कपुरकोटले अक्सिजनसहित ५ र नर्मल २५ गरी ३० शैयाको आइसोलेसन निर्माण गरेका छन्।

आइसोलेसनमा मेडिकल अधिकृत सहितले टोलीले स्वास्थ्य सेवा दिने छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रकाश दाहालले जानकारी दिए। अहिले तत्काल १० बेडको निर्माण गरिए पनि बिरामीको चापका धारण बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ।

गाउँपालिकाभित्रका अतिजटिल कोभिड १९ का बिरामीलाई उपचार कक्षमा राखी उपचार गरिने छत्रेश्वरीका अध्यक्ष सन्तोष केसीले जानकारी दिए। सामान्य बिरामी भन्दा पनि अक्सिजन दिनुपर्नेको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको उनको भनाइ छ। 

अन्य स्थानका अस्पतालहरूमा बेड अभाव हुन थालेपछि नगरपालिकाले अक्सिजन खरिद गरी आइसोलेसन निर्माण गरेको बनगाड कुपिण्डे नगरपालिकाका शाखा शाखा संयोजक बासुदेव पोखरेलले बताए।

नगरपालिकामा कोरोना पोजेटिभ संख्या बढ्दै गएको र उपचारका लागि समस्या हुन थालेपछि तत्काल १५ बेडको आइसोलेसन निर्माण गरिएको उनको भनाइ छ।

सल्यान अस्पतालमा अहिले १६ बेडको आइसोलेसन छ। १३ बेडमा बिरामी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.