|
विद्युतीय शवदाह गृहले नथेगेपछि बागमती किनारमै कोरोना संक्रमितको शव जलाइँदै।

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार २७ र सोमबार ३७ जना संक्रमितको मृत्यु भएको छ। जसकारण मृतकको शव व्यवस्थापन गर्न समेत समस्या हुन थालेको छ। 

यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गरिँदै आएको  थियो। तर, शव धेरै भएकाले विद्युतीय शव गृहले थेग्न सकेन। त्यसो त नेपाली सेनाले आइतबारबाट पशुपतिको बागमती किनारामै शव जलाउन थालेको छ। 

सेनाका प्रवक्ता  सहायकरथी सन्तोषबल्लभ पौडेलले पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नु परेकोले समस्या आएको बताउँछन्। ‘विद्युतीय शवदाह गृहमा एउटै शव व्यवस्थापन गर्न एक घन्टा भन्दा धेरै समय लाग्छ, यता  संक्रमणबाट मृत्यु भएर व्यवस्थापन गर्नुपर्ने शवको संख्या धेरै हुन थालेको छ,त्यसैले बागमती किनारमै व्यवस्थापन गरेका हौं', पौडेलले भने।

कोष भन्छ : तयारी छैन, सरकारको नीतिअनुसार मात्र हुन्छ

सरकारी स्वास्थ्य विज्ञहरुले नै अझै कोरोना संक्रमणदर र मृतकको संख्या बढ्दै जाने बताइरहेका छन्। तर, शव व्यवस्थापनको लागि पशुपति क्षेत्र विकास कोषको भने केही तयारी छैन। 

कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापा भन्छन,‘शवदाह गृहले थेग्न नसकेकाले सेनाले आइतबारबाट बागमती किनारमा दाउराबाट जलाउन सुरु गरेको छ,शव व्यवस्थापन सेनाले गर्ने हो,हामी त सहकार्य मात्रै गरेका हौँ,शव जलाउने सामग्री भने हामीले उपलब्ध गराउने गरेका छौं।’

उनले सरकारको नीतिअनुसार मात्रै शव व्यवस्थापन गर्न पहल गर्ने तर्क गरे। ‘कोषले केही तयारी गरेको छैन,सरकारले नीति ल्याए व्यवस्थापन गरिएला नि!,’थापाले भने।    

उनका अनुसार दैनिक शवदाह गृहमा १७ जनासम्म कोरोना संक्रमितको शव जलाउने गरिएको छ।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.