|

सिन्धुली : जिल्ला कारागार कार्यालय सिन्धुलीको घेरा पर्खाल निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। कारागार वरिपरी निर्माण भइरहेको घेरा पर्खालको अनुगमनका क्रममा ठेकेदारले लापरबाही गरी गुणस्तरहीन काम गरेको पाइएको छ।

मंगलबार कमलामाई नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन्। आठ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको घेरा पर्खाल नगरप्रमुख खड्गबहादुर खत्री र सिडियो सुरेश न्यौपानेले लात हानेर भत्काएका हुन्।

स्थानीयले डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरिरहेको घेरा पर्खालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी कम सिमेन्ट कम प्रयोग गरेको गुनासो गरेपछि अनुगमनका क्रममा पर्खाल भत्काइएको हो।

करोडौं रुपैयाँ लागतमा निर्माण भइरहेको संरचनाको गुणस्तरमा ध्यान दिन पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरेको नगरप्रमुख खत्रीले बताए। कारागार भवन निर्माण गर्दा समेत गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको भन्दै खत्रीले प्रमुख जिल्ला अधिकारीमार्फत गुणस्तर चेक गर्न भनेका थिए।

उनले गुणस्तरहीन काम भत्काएर पुनःनिर्माण नगरेसम्म काम रोक्न माग गरेको जनाएका छन्। अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरबाही गरिएको पाइएकाले गुणस्तरहीन कामलाई तत्काल रोकेर ठकेदारलाई प्रशासन कार्यालयमा बोलाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।

त्यस्तै कारागारको शौचालयको ढल ग्वाङ खोलामा मिसाउँदा पुरै बस्ती दुर्गन्धित भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन्। कारागारबाट ढल खोलामा मिसाउँदा खानेपानी, नुहाउन र गाई वस्तुलाई पानी खुवाउन समेत समस्या भएको स्थानीयको गुनासो छ।

अनुगमनका क्रममा शौचालयलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ। कारागार प्रमुख निर्माण कम्पनीका प्राविधिक श्याम पहरीले निर्माणमा केही कमजोरी भएको स्वीकार गर्दै निर्माणाधिन पर्खाल भत्काएर पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाए।

जिल्ला कारागारमा ८० जना कैदी बन्दीको क्षमता भएपनि पाँचसय आठ जना कैदीबन्दी राखिएको छ। २०७६ पुसबाट निर्माण थालिएको कारागार भवन २०७८ असार मसान्तभित्र सक्ने गरी ठेक्का संझौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.