|

सल्यान : दिनप्रतिदिन फैलँदो क्रममा रहेको कोरोना भाइरसका कारण अहिले अक्सिजनको अभाव बढ्दै गएको छ। अक्सिजनको अभावकै कारण धेरैले अकालमै ज्यान नै गुमाइरहेका छन् भने कैयौँ छट्पटाइरहेका छन्।

अस्पतालमा अक्सिजनको अभाव बढ्दै जाँदा सल्यानमा भने ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सञ्चालन गरिएको छ। अक्सिजनकै अभावबाट अकालमै कोहीको ज्यान जान नदिन कोभिड १९ सेल्फ हेल्प समूह गठन गरी अक्सिजन सिलिन्डरका लागि मेरा एक हजार अभियान सुरु गरिएको छ।

संकटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरुले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको अभियान्ता तथा पत्रकार आशिष केसीले जानकारी दिए।

बुधबार साँझबाट सुरु गरिएको अभियानमा अहिलेसम्म झन्डै ८० हजार रुपैयाँ संकलन भइसकेको उनको भनाइ छ। सञ्चालन गरिएको अभियानको राम्रो प्रतिक्रिया आइरहेको र सहयोग पनि गर्ने आश्वासन आइरहेको केसीले बताए।

मानवीय र सामाजिक उत्तरदायित्व पूरा गर्न अभियान सुरु गरेको गोविन्द शर्माले बताए। एकजनाले एक हजार मात्र सहयोग गरे कसैको ज्यान जोगिन्छ भने एक हजार किन सहयोग नगर्ने?

समूहले बिरामीहरुका लागि २४ सैं घण्टा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनको भनाइ छ। संकलन भएको रकमबाट जिल्ला अस्पताल सल्यानमा अक्सिजनसहितको सिलिन्डर उपलब्ध गराउने शर्माले बताए। सल्यान अस्पतालमा अक्सिजनसहितको सिलिन्डर नहुँदा उपचारमा समस्या हुँदै आइरहेको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सल्यानमा हाल ३ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये १४ जना जिल्ला अस्पताल सल्यान, ५ जना संस्थागत आइसोलेशन र २३ सय १५ जना होम आइसोलेशनमा रहेका छन्। कोरोनाबाट सल्यानमा ८ जनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.