|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ। अस्पतालको गम्भीर लापरबाहीका कारण दुई कोरोना संक्रमितको मृत्यु भएको र स्वीकृत गरिए भन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्पताललाई पत्र पठाएको हो।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए। उनले भने, ‘कारवाहीको प्रक्रिया सुरु गरेका छौं। त्यसका लागि अस्पताललाई पत्र पठाएका छौं।’

सहायक प्रजिअ केशरीले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने बताउँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे। उनले भने, ‘यो अनुसन्धानको पाटो हो। धेरै कुरा अहिले नै खुलाउन नमिल्ला।’ उनले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए।

१५ शय्याको स्वीकृति पाएको उक्त अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो। स्रोतका अनुसार अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो।

दिउँसोदेखि नै अक्सिजनको अभाव झेलेको अस्पतालले समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसियु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान बिरामीका आफन्तलाई दबाब दिएको थियो। 

सोही क्रममा अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित भक्तपुर, कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको थियो भने अस्पतालले अन्यत्र लैजानु भन्दै आइसियुबाट बाहिर निकालेका पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

उक्त अस्पतालले बिरामीलाई रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसियु बाहिर निकालेको मृतकका आफन्तको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.