|

पर्वत : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जलजला गाउँपालिकाले २० शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार वडा नम्बर ८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो। मध्य पहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुंगा सडकको नजिकै अस्पताल छ।

‘नागरिकको स्वास्थ्यलाई नै हामीले प्राथमिकतामा राखेका छौँ। प्रमुख र उपप्रमुख चढ्ने गाडी बिरामी ओसार्न प्रयोग गर्न दिएका छौं,’ उनले भने, ‘ज्यान बाँच्यो भने मात्र अरू काम हुन्छन्। पहिले नागरिकको ज्यान हो त्यसैले तत्कालका लागि २० शय्या क्षमताको अस्थायी अस्पताल निर्माण गरेका छौं।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार २० शय्या क्षमता रहेको अस्पतालमा ६ शय्यामा अक्सिजन जडान गरिएको छ। अन्यमा पनि अक्सिजन व्यवस्थापन गर्न काम भइरहेको उनले बताए। अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक जना डक्टर र अन्य स्वास्थ्य चौकीमा कार्यरत अनमी र नर्सहरू चौबिसै घण्टा परिचालन गरिएको छ।

कोरोनाको दोस्रो लहर आएपछि जलजलामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सक्रिय संक्रमित ३५ जना छन्। तीनजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितमध्ये २९ जना होम आइसोलेसनमा छन्। ६ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन्। जलजलाले निर्माण गरेको अस्पतालमा अहिले एकजना संक्रमित उपचाररत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.