कांग्रेस पार्टी कार्यालयमा आइसोलेसन

|

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको ‘सेवा दल’ले डडेल्धुरा अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। शनिबार सेवा दलले नेपालगञ्जबाट ल्याएर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।

डडेल्धुरा पुगेका सबै सिलिण्डर नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।

सेवा दलकै सदस्यहरुको पहलमा नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए। आगामी दिनमा पनि अस्पतालाई अक्सिजन सिलिण्डर सहयोग गर्ने उनले बताए।

अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रिमित बिरामीको उपचारमा समस्या भइरहेको छ। डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बिरामी पनि डडेल्धुरा अस्पतालमा आउने भएकोले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ।

अक्सिजन अभाव भइरहेको समयमा सेवा दलले अस्पताललाई २० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा अस्पताल विकास समितिका अध्यक्ष ओझाले धन्यवाद दिए।

पार्टी कार्यालयमा आइसोलेसन

नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन सञ्‍चालनमा ल्याएको छ। सेवा दलले १३ बेडको आइसोलेसन बनाएको हो।

केही दिनमा थप १७ बेड गरी ३० बेडको आइसोलेसन निर्माण गरिने कांग्रेस डडेल्धुराले जनाएको छ। ‘किसुनजी विश्राम स्थल’ नाम दिएर आइसोलेस सञ्‍चालनमा ल्याएको हो।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल संक्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइएको कार्यवहाक सभापति भट्टले बताए।

उनका अनुसार हाल पाँच अक्सिजन बेड र आठ नर्मल बेडको आइसोलेसन बनाइएको हो। कोरोना संक्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो।

त्यस्तै, जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर, ग्लोब्सजस्ता सामग्रीसमेत सेवा दलले वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.