|

स्याङ्जा : कोभिड १९ को संङ्क्रमण दर तीव्र गतिमा बढेपछि वालिङ प्राथमिक अस्पतालमा आइसोलेशन बेडको संख्या वृद्धि गरिएको छ।

आठ वटा अक्सिजन सहितको आइसोलेशनलाई स्तरवृद्धि गर्दै सुविधा सम्पन्न ३५ बेड संञ्चालनमा ल्याइएको अस्पतालका सुचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए। उनले भने,‘बिरामीको चाप बढेपछि बेडको संख्या वृद्धि गरेका हौँ। नगरपालिकाले विभिन्न संघ संस्थासँग समन्वय गरेर १८ थान शैया र केही अक्सिजन समेत उपलब्ध गराएपछि उपचार सामग्रीमा सहज भएको छ।’ वालिङ नगरभित्र मात्रै दैनिक २० भन्दा माथि संङ्क्रमित बढ्ने गरेको भट्टराईले बताए।

वालिङ नगरपालिकाले संक्रमितलाई आत्मबल वृद्धि गर्न घरदैलो कार्यक्रम अन्तर्गत भेटघाट गर्ने र परामर्श दिने अभियान पनि सुरु गरेको छ। यता नगरवासीलाई स्वास्थ्य सामग्री सहयोगको लागि अपिल समेत गरेको छ।

नगरपालिकाको अपिल पछि नगरवासीले सक्दो सहयोग गरेका छन्। सोही कार्यक्रम अन्तर्गत १८ शैया, सामग्री खरिद गर्न आर्थिक सहयोग र अक्सिजन सिलिण्डर उपलब्ध भएको छ। शुक्रबार वालिङ– ८ ब्याङतुङ निवासी स्यानीदेवी सुवेदी, गोपालधन सुबेदी, टीकाराम सुवेदी र डाक्टर बालकृष्ण सुवेदीले दुई थान अक्सिजन खरिदका लागि दुई लाख १३ हजार उपलब्ध गराएका छन्। उक्त चेक गोपालधन सुवेदीले नगर प्रमुख दिलीप प्रताप खाँणलाई  हस्तान्तरण गरेका छन्।

त्यस्तै वालिङ –८ का वडा सदस्य एवं ब्यवसायी चेतनारायण श्रेष्ठले नगर प्रमुख खाँणलाई एक थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि एकलाख ६ हजार हस्तान्तरण गरेका छन्। त्यस्तै वालिङ–१० बर्तुङ निवासी डोलराज सुवेदीले सोही मेसिन खरिदका लागि २० हजार सहयोग उपलब्ध गराएको नगरप्रमुख खाँणले बताए।

उनले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि यो रकम प्रयोग गर्ने जानकारी दिए। बिरामीहरुमा अक्सिजनको कमि हुन नदिन कन्सन्ट्रेटर मेसिन खरिदका लागि रकम खर्चिने उनले सुनाए।

नगरपालिकाले नगरलाई जनस्वास्थ्य विपद अवस्थाको घोषणा गर्दै इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री तथा उपकरणहरु उपलब्ध गराउन सक्ने व्यहोराको आह्वान समेत जारी गरेको छ।

यस अघि वालिङ नगरपालिकाले आह्वान गरेको ‘एक संस्था एक शैया’ अभियानमा अन्तर्गत नगरभित्र भएका संघसंस्था र सहकारीबाट १८ थान शैया उपलब्ध भएको थियो। स्याङ्जाका ११ वटै स्थनीय तहमा सक्रिय संङ्क्रमितको संख्या सात सय ३५ रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।

अहिलेसम्म जिल्लाभर कोरोना सङ्क्रमित भई मृत्यु हुनेको संख्या २९ पुगेको छ भने निको हुनेको संख्या ८५ रहेको छ।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.