|
फाइल फोटो

पोखरा : दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिँदा जाँदा अस्पतालहरूको सङ्ख्या धेरै रहेको पोखरामा रगतको अभाव हुन नदिनको लागि घुम्ती तथा आकस्मिक रक्तदान कार्यक्रमहरू सुरु गरिएका छन्।

पहिलेको तुलनामा अस्पतालहरूमा रगतको माग करिब ५० प्रतिशतले घटेको भए पनि रक्तदाताको अभावले थोरै मात्रामा रगत भण्डारण गरेर राखिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए।

दोस्रो चरणमा कोरोनाका सङ्क्रमण गण्डकी प्रदेशका अन्य जिल्लको तुलनामा कास्कीको पोखरामा निकै बढी भएकाले रक्तदाताहरू रगत दिनका लागि बाहिर आउन डर मान्दा रक्तसञ्चार केन्द्रमा भण्डारमा रहेको सकिनै लाग्ने अवस्थामा पुगेको ज्ञवालीको भनाइ छ।

‘दोस्रो लहरमा रक्तदानका सबै कार्यक्रमहरू प्रभावित भएका छन्। हामीले हाम्रो क्यालेन्डर अनुसार काम गर्न पाएका छैनौँ। रगतको खोजी गरेकाहरूलाई आजका दिनसम्म त फिर्ता पठाउनु परेको छैन। तर यस्तै अवस्था रहेमा रगत नपाउने अवस्था आउन लागेको छ।’ उनले भने, ‘रगत अभावमा कसैको पनि ज्यान जानु हुँदैन भनेर नै विभिन्न सामाजिक सङ्घ संस्थाहरूलाई अनुरोध गरेर घुम्ती तथा आकस्मिक रूपमा रक्तदान कार्यक्रमहरू चलाएका छौँ।’

विभिन्न ठाउँमा घुम्ती रूपमा चलाइएका रक्तदान कार्यक्रमहरूमा निकै कम सङ्ख्यामा रक्तदाताहरू उपस्थित गराएर रगत सङ्कलनको काम भइरहेको उनले बताए। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु हुनु पूर्व क्षेत्रीय रक्तसञ्चार केन्द्रबाट दैनिक ८० पोकासम्म रगत अस्पतालहरूमा जाने गरेकोमा अहिले पनि माग घटेर दैनिक करिब ३५ पोकामा आएको छ। केन्द्रमा अहिले ‘बी’ समूहका ६०, ‘ए’ समूहका ४०, ‘एबी’ समूहका आठ र ‘ओ’ समूहका ९५ पोका रगत भण्डारमा रहेका छन्।

पोखरामा रगतको अभाव हुँदै गएपछि अहिले दैनिक रूपमा आफूहरूले रगत सङ्कलन अभियान चलाइरहेको र पाँच सय पिन्ट भन्दा धेरै रगत सङ्कलन गर्ने लक्ष्य राखेको लायन्स क्लब अफ पोखरा भिजिटका अध्यक्ष कमल पौडेलले बताए। रक्तसञ्चार केन्द्रमा रगतको भण्डार कम हुँदै जानु र लकडाउन झनै कडा बन्दै गएको अवस्थामा बिरामीहरूले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ।

‘पोखरामा रगत दिन पनि मान्छेहरू पनि बाहिर निस्किएका छैनन्। अब सम्भव भएको अवस्थामा हप्तै पिच्छे रक्तदान कार्यक्रम चलाउने योजना हामीले बनाएका छौँ। सङ्कलन भएको रगत क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरालाई दिइन्छ।

यसका लागि प्राविधिक सहयोग पनि उसैले गरेको छ।’ उनले भने, ‘गत वर्षको लक डाउनमा पनि खटेर लागेको हो। अहिले लायन्स क्लब इन्टरनेसनलले ३२५ बी वन को गण्डकी एरियामा ४ सय पिन्ट माथि रगत सङ्कलन गरिसकिएको छ। लायन्स वर्ष सन २०२०÷२१ को असार मसान्त सम्म पाँच सय पिन्ट भन्दा माथि रगत सङ्कलन गर्ने लक्ष्य राखेका छौँ।’

रक्तसञ्चार केन्द्रका प्रमुख ज्ञवालीका अनुसार गएका दिनमा पनि पोखराका विभिन्न स्थानमा विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् भने केहीले लगातार रगत सङ्कलनको काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.