|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउनको लागि अस्पतालमा कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको विवरण उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ।

मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णयअनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।

कोरोनाको महामारीमा पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी,  सफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थित गर्ने र प्रमाणित अभिलेखका आधारमा भत्ता उपलब्ध गराइने मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।

मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्युटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न भनेको छ।

अघिल्लो वर्ष अर्थात् कोरोनाको पहिलो वेभमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १००, ७५ र ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।

अघिल्लो वर्ष बिरामीको उपचारबापत पाएको रकम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मीलाई दिने निर्णय थियो। तर, अधिकांश अस्पतालले रकम उपलब्ध नगराएपछि यसपटक सरकारले सम्बन्धित कर्मचारीको खातामा तलबसँगै जोडेर ५० प्रतिशत भत्ता पठाउने भएको हो ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको कात्तिकदेखि जोखिम भत्ता वितरण गरिएको छैन। मन्त्रालयले देशभरका स्वास्थ्य संस्थासँग कोभिडमा काम गर्ने स्वास्थ्यकर्मीहरूको सूची माग गरेको छ । सोही सूचीका आधारमा सिधै खातामा रकम पठाइनेछ । यसपटक केस बेसको शोध भर्नाबाहेक कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ता दिन लागिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.