|

सल्यान : होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिका-का दुई पुरुषको बिहीबार मृत्यु भयो।

अस्पतालमा  ठाउँ नभएपछि होम आइसोलेसनमा  बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि उपचार नै नपाएर मृत्यु भयो। होम आइसोलेसनमा मृत्यु भएकाको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो। सल्यानमा यसरी नै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ। 

कोरोना संक्रमित बढ्दै जाँदा सल्यान अस्पताल बिरामीले खचाखच भरिएका छन्। अस्पतालमा ठाउँ अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन्।

होम आइसोलेसनमा बस्दै आइरहेकाले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्ने बाध्यता छ। होम आइसोलेसनमा चिकित्सकीय उपचार तथा परामर्श नहुँदा नागरिकले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन्।

कोरोनका महामारीले गर्दा सबैलाई अस्पतालमा भर्ना गर्न सक्ने अवस्था नरहेको सल्यान अस्पताल सल्यानका डा. भीमकान्त जैसीको भनाइ छ। 

संक्रमित बढ्दै जाँदा अक्सिजनको अभाव भएको र अस्पतालमा बेडसमेत नहुँदा संक्रमितलाई घरमै बस्न आग्रह गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।

अक्सिजनको मात्रा एकदमै घटेकालाई मात्र अस्पतालमा राख्ने गरेको उनले बताए। होम आइसोलेसनमा बस्दै आइरहेका संक्रमितलाई स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर स्थिति बुझ्ने काम भइरहेको पनि उनले बताए। 

अक्सिजन आवश्यक पर्नेबाहेक अन्यलाई होम आइसोलेसनमा बस्ने सरकारको नीति भएकै कारण धेरै संक्रमित घरमै रहेका दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी पनि बताउँछन्। 

सल्यानमा हालसम्म १ हजार ८ सय ७५ जना कोरोना संक्रमित छन्। जसमा १ हजार २ सय २८ डिस्चार्ज भइसकेका छन्। हाल ६ सय ४ सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ५ सय ५० जना छन्।

सल्यान अस्पतालको आइसोलेसनमा २२ र संस्थागत आइसोलेसनमा ३२ जनाको मात्र उपचार भइरहेको छ।

जिल्लामा ३२ जनाको मृत्यु हुँदा होम आइसोलेसनमा रहेका ९ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ। जबकि संस्थागत आइसोलेसनमा तीन जनाले मात्रै ज्यान गुमाएका छन्। सामान्य अवस्था हुँदा घरै बस्न सुझाव दिने तर निगरानी नराख्नाले जोखिम बढेको छ। 

नियमित औषधि  उपचार अभावमा होम आइसोलेसनका संक्रमितको ज्यान जोखिममा पर्दै गएको हो। जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रदेखि टाढाका बस्तीमा चिकित्सक र स्वास्थ्यकर्मी पनि पुग्न नसक्ने अवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.