|

म्याग्दी : कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा भने हावाबाट बिजुली बलेपछि उत्साह छाएको छ।

म्याग्दीको बेनी नगरपालिका २ खबराको लभ्लीहिल  (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइनमार्फत ४ वटा बल्ब बल्ने क्षमताको विजुली प्लान्ट निर्माण भएको हो।

म्याग्दीऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले रु १ लाख खर्चेर आफ्नै प्राविधिक सीपको प्रयोगगरी हावाबाट बिजुली उत्पादन गरेको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अध्यारो हुँदा निकै असजिलो महशुस हुने गर्दथ्यो। तर,कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइ दिएपछि बेलुकीपख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ।

यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि  परिस्थिति सहज हुनेबित्तिकै पर्यटकहरुको घुइचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भए पनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्‍चालक श्रेष्ठका अनुसार अहिलेलाई एउटा मात्र बल्ब राखेर परीक्षण गरिएको हो। परीक्षण सफल भएकोले कोरोना संक्रमणको स्थिति अलि सहज भएर निषेधाज्ञा फिर्ता हुनेबित्तिकै ४-५ वटा बल्ब बाल्न सकिने गरी विद्युत विस्तार गर्न सकिन्छ।

त्यसका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकोले अहिले ल्याउन सक्ने अवस्था छैन। स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि ५ वटा बल्ब बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ। विद्युत सेवा उपलव्ध भएपछि लभ्लीहिल आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.