|

काठमाडौ : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान र संवैधानिक व्यवस्था रहुन्जेल जनतालाई निराश बनाउने खेल निरन्तर भइरहने बताएका छन्।

हिजो मात्रै सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्री साहले आज प्रतिक्रिया दिँदै हठपूर्वक बनाइएको वर्तमान संविधान स्पष्ट नभई विभिन्न प्रणालीहरुको फ्युजन भएकोले देश कन्फ्यूज्ड भएको बताए।

संविधानको धारा ७६ को उपधारा ५ को अस्पष्ट प्रावधानकै कारण एउटा दलको सांसद अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसमेत गर्न भ्याइरहेका मन्त्री साहको टिप्पणी छ।

यी र यस्ता संवैधानिक कम्फ्युजनले गर्दा देश अन्योलग्रस्त भएको तथा अराजकता र अस्थिरता बढेको नेता साहको भनाइ छ। आफूलाई पनि संविधानमा रहेको अस्पष्टताकै कारण पदमुक्त गरिएको जिकिर गर्दै नेता साहले कदम कदममा वर्तमान संविधान असफल हुँदै गएकोले दीर्घकालीन रूपमा यसले जनतालाई निराश मात्र बनाइराख्ने बताए।

'आज देशमा हेर्न सक्नुहुन्छ, चाहे सत्ता टिकाउन होस् चाहे गिराउन विभिन्न खेलहरु भइरहेका छन्। जनताको मतको अपमान हुनेगरी निर्वाचित प्रतिनिधिलाई व्यक्तिगत कुण्ठाका आधारमा बर्खास्त गर्ने, हस्ताक्षर दुरुपयोग गर्ने, एउटा पार्टीको सांसद खुलेआम अर्को पार्टीको प्रधानमन्त्री बनाउन विभिन्न षड्यन्त्र गर्ने, सांसद किनबेच तथा अपहरण गर्ने, पार्टी फुटाएर मन्त्री बनाउने जस्ता भद्दा अभ्यासहरू भइरहेका छन्,' नेता साहले भने, 'संविधानमा रहेको व्यवस्था स्पष्ट नहुँदा देशको सांसद-मन्त्रीलाई आफ्नो हकको प्रयोग बाट वञ्चित गरिँदै छ। यी तमाम तमासा हुनुको कारण अहिलेको संविधान र यसमा रहेका कन्फ्युज्ड संवैधानिक व्यवस्था नै हो। र यसले जनतालाई निरन्तर निराश मात्रै बनाइराख्ने , यो खेल रोकिनेबाला छैन।'

नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपहरुको खिचडी भएको बताउदै उनले वर्तमान व्यवस्थाले देशलाई समाजवादको दिशातर्फ डोर्याउन नसक्ने बताए, बरु देशलाई बर्बाद गर्ने पक्का रहेको बताए। उनले  संविधान परिमार्जन गरी सुदृढ शासन व्यवस्थाबाट मात्र देशमा स्थिरता कायम गर्न सकिने बताए।

'विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्त, मूल्य र मान्यताको आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुपविपरीत सिद्धान्तहरुको खिचडी हो। सामन्तवादी, पुँजीवादी र दलालजस्ता विभिन्न विचार र सोचवाला पार्टीहरुको निहित स्वार्थमा तयार भएको कनफ्यूज्ड र विकृत व्यवस्थाले गर्दा नै आज देश संकटग्रस्त बनेको छ,' नेता साहले थपे, 'खिचडी संविधानले अवलम्बन गरेको वर्तमान संसदीय व्यवस्था एउटा विकृत व्यवस्था हो भन्ने कुरा अहिलेको राजनीतिक परिवेशले पुष्टि गरिरहेको छ। यो यतिमै रोकिनेबाला छैन, यसले अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ। त्यसैले म फेरि भन्न चाहन्छु यसमा पुनर्विचार गर्ने बेला आइसकेको छ।'

जनतालाई निराश बनाउने संविधान र संवैधानिक व्यवस्थाहरु हटाउन नसके मुलुक दशकौं पछाडि धकेलिने नेता साहको ठहर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.