|

काठमाडौं : स्थानीय तहको चुनावको मिति नजिकिएसँगै नेकपा माओवादी केन्द्र छोडेर बाहिरिएकाहरू पार्टीमा फर्किने क्रम बनेको छ। माओवादी फुट्दा अलग भएकाहरुलाई माओवादी केन्द्रले फेरि पुरानै पार्टीमा फर्काउन लागेको हो। 

गत जेठ ७ गते एकीकृत नेकपा माओवादीसहित १० माओवादी घटक एक भएर नेकपा माओवादी केन्द्र निर्माण भएको थियो। त्यसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा रहेका आधाभन्दा बढी केन्द्रीय सदस्यहरू लिएर रामबहादुर थापा बादल एकतामा आए। त्यसैगरी मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायतका नेताहरू आफ्नो टिमसहित एकीकृत पार्टीमा आएका थिए।  

त्यस यता डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट गत शुक्रबार केन्द्रीय सदस्य तोकबहादुर खत्री ‘जीवन’ लगायतका केही नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा फर्किएका छन्। उनी नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य र युवा संगठनका केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा थिए। 

त्यसैगरी चैत ११ गते मात्र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं भेरी–कर्णाली क्षेत्रका इन्चार्ज आदर्श माओवादी केन्द्रमा फर्किए। उनीसँगै भेरी–कर्णालीमा रहेका जुम्ला, कालिकोट, हुम्लालगायतका जिल्लाका नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा आए।  

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका थापेर भित्रिएका आदर्शले माओवादीका मुद्दा ओझेल नपरून् भनेर आफू पुरानै पार्टीमा फर्किएको बताए। कालिकोट फर्किसकेका उनले टेलिफोनमा भने ‘मोहन वैद्य ‘किरणले जे जति गर्नुहुन्छ भनेर हामी उहाँको पछि लागेका थियौं, उहाँले त्यस्तो केही गर्न सक्नुभएन।’

अहिले देश पुनर्संरचनाको संघारमा उभिएको हुनाले सबै माओवादी एक ठाउँ आएर देश विकासमा जोड दिनुपर्ने आदर्शको तर्क छ। उनी भन्छन्, ‘रणनीतिक कुरा आआफ्नो ठाउँमा छ, तर कार्यनीतिमा मिलेर जान सक्नुपर्छ।’ 

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडाका मुख्य सचिव प्रह्लाद बुढाथोकीका अनुसार माओवादीहरू केन्द्रिकृत र धुव्रीकृत हुने क्रम सुरु मात्र भएको छ। स्थानीय तहको निर्वाचन तोकिएको मिति जति नजिक आउँछ, उति नै माओवादीमा पार्टी प्रवेशको लहर तीव्र बन्दै जाने उनको दावी छ। बुढाथोकी भन्छन्, ‘राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिका र अध्यक्ष प्रचण्डको भूमिका हेरेर नै पार्टीबाहिर गएकाहरू पार्टीमा फर्किने क्रम तीव्र बनेको छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार प्रमुख हुनु, उनकै महत्त्वपूर्ण भूमिकामा संविधान निर्माण हुनु, कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नु र १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनु पनि माओवादी पार्टी ध्रुव्रीकरणको एउटा पक्ष भएको बुढाथोकीको तर्क छ।

अहिले माओवादीका प्रभावशाली नेता देव गुरुङको नेतृत्वमा निर्वाचन परिचालन समिति र अर्का नेता अमिक शेरचनको संयोजकत्वमा अन्य पार्टी र पक्षसँग वार्ता समिति गठन गरिएको माओवादी नेतासमेत रहेका बुढाथोकी बताउँछन्। अरू पार्टीमा रहेकाहरूलाई आफ्नो पार्टीमा ल्याउनको लागि र छरिएर रहेका क्रािन्तकारी शक्तिलाई गोलबन्द गर्नका लागि नै वार्ता समिति नै बनाएर अगाडि बढेको उनको भनाइ छ। 

के भन्छन् नेताहरू? 

गत जेठमा पार्टी एकता गर्ने बेलामा आफ्नो पार्टीलाई मुलुककै पहिलो पार्टी बनाउने अठोट व्यक्त गरेका प्रचण्ड सरकार प्रमुख भएर सत्तामा गएपछि उनको नम्बर एक पार्टी बनाउने सपनाले भने गति लिन सकेको छैन। पार्टी एकताको सन्देशलाई तल्लो निकायसम्म पुर्‍याउन पनि निकै ढिलो गरेको माओवादी केन्द्रले आफ्नो केन्द्रीय समितिलाई पूर्ण आकार दिन नै छ महिनाभन्दा बढी समय लगाएको थियो। 

देश संघीयतामा गइसकेको सन्दर्भमा देश विकासले जति गति लिनुपर्ने हो, त्यो नभएको माओवादी नेता देव गुरुङ बताउँछन्। उनी भन्छन्, ‘देश जसरी सुस्त गतिमा चलेको छ, हाम्रो पार्टी पनि सोही गतिमा चलेको छ।’ देश नै सुस्त छ भने त्योभित्रका पार्टी र अरू संरचनाहरू द्रुत गतिमा अगाडि बढ्न नसक्नु सामान्य भएको गुरुङ टिप्पणी गर्छन्।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीका अध्यक्ष नै सरकार प्रमुखको जिम्मेवारीमा रहेको हुनाले पार्टीका गतिविधि कमजोर हुनु स्वाभाविकै हुने बताउँछिन्। पहिले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचनलगायतका काम सम्पन्न गरेपछि पार्टी सुदृढीकरणमा लाग्ने उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.