तर महामारी दुर्गम गाउँ–गाउँमा

|

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै एक अर्बबराबरको बजेट निकासा गरेको छ।

यस्तै, कर्णालीका विभिन्न स्थानीय तहरुमा रहेका अस्पताललाई पनि कोरोनाविरुद्ध लड्नका लागि कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै १२ करोड १२ लाख २० हजार बजेट उपलब्ध गराएको हो।

कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि कर्णालीका ३३ स्थानीय तह अन्तर्गतका रणनीतिक अस्पतालहरूलाई उक्त रकम प्रदान गरिने प्रदेश सरकारले जनाएको छ।

समाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत समालेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७७-७८ मा कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरुमा कोभिड–१९ महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड रकम, अक्सिजनलगायतको कोभिड–१९ प्रतिकार्य व्यवस्थापनका लागि ११ करोड ५० लाख, स्वास्थ्य सेवा निर्देशनालयको लागि कोभिड–१९ सम्बन्धी प्रतिकार्य व्यवस्थापनका लागि थप बजेट १३ करोड ८० लाख गरी जम्मा ९८ करोड ३० लाख निकासा भएको बताए।

त्यस्तै, कर्णाली प्रदेशको स्वीकृत दरबन्दीमा दुईतिहाइ स्वास्थ्यकर्मीहरू रिक्त रहेको भन्दै अत्यावश्यक जनशक्ति व्यवस्थापनको लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

मुख्यमन्त्री शाहीका अनुसार प्रदेशका सबै जिल्लामा आइसियु स्थापना र भेन्टिलेटर संचालनका लागि बजेटको व्यवस्था एवं चिकित्सक तथा नर्सहरुको व्यवस्थापन, प्रदेशका सबै जिल्लामा रहेका अस्पतालमा प्रति जिल्ला ४० लाखका दरले अक्सिजन मिनि प्लान्ट स्थापना, स्वास्थ्य सेवा निर्देशनालय, जनरस्वास्थ्य सेवा कार्यालयहरु र अस्पतालहरुलाई अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सन लगायतका सामग्रीहरु खरिद कार्यका लागि बजेट व्यवस्था गरिएको छ।

त्यस्तै, प्रदेश सरकार प्रदेश अस्पताललाई ५०० बेड क्षमताको अस्पतालको रुपमा स्तरोन्नति गर्ने योजनासमेत छ। साथै कर्णालीका विभिन्न स्थानीय अस्पतालहरूलाई १५ देखि २५ बेड, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० बेड, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० बेड क्षमताको अस्पतालको रुपमा निर्माण गर्ने सरकारको योजना छ। 

त्यस्तै, संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट (जाजरकोट अस्पताल), स्वास्थ्य सेवा कार्यालय दैलेख (दैलेख अस्पताल), स्वास्थ्य सेवा कार्यालय कालिकोट (कालिकोट अस्पताल) र स्वास्थ्य सेवा कार्यालय हुम्ला (हुम्ला अस्पताल) हरुमा २५-२५ बेडका गरी जम्मा एकसय ५० बेड हाई डेपेन्डेन्सी युनिट स्थापनाका लागि खरिद प्रक्रियाको क्रममा रहेको र प्रदेश अस्पताल सुर्खेतका लागि थप ५० बेडको स्थापनाका लागि बजेट सुनिश्चितता प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, सरकारले कोरोना महामारीमा रातदिन नभनी खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेशमा रही काम गर्न प्रोत्साहन गर्ने हेतुले एकसय ३५ प्रतिशतसम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको छ।

साथै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको लागि प्रदेश सरकारबाट ५० प्रतिशत थप जोखिम भत्ताको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साथै कोभिड–१९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापनलगायत कार्यमा सुरक्षाकर्मीलाई समेत खटाइएको छ। र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका लागि कोभिड–१९ प्रतिकार्यको लागि आवश्यक लजिस्टिकको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै, प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दैँ रकम निकासा गरे पनि महामारी सोचे जस्तो नियन्त्रण हुन सकेको छैन। कोरोना कर्णालीका दुर्गम गाउँ–गाउँमा पुगेको छ। प्रदेश भर दैनिक ८ प्रतिशतसमेत कोरोना संक्रमितको दैनिक मृत्यु हुने गरेको छ। भने ४० देखि ५० प्रतिशतसमेत दैनिक नयाँ सक्रमित फेला पर्ने गरेको प्रदेश सेवा निर्देशनालयले जनाएको छ।

हालसम्म कर्णाली प्रदेश भर कोरोनाका कारण दुइसय जनाको मृत्यु भइसकेको छ। भने हाल कर्णालीका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा गरी जम्मा ६ हजार पाँचसय ९३ जना सक्रिय संक्रमित छन्।

गाउँ-गाउँमा संक्रमित

कर्णालीका कुनै पनि जिल्लामा क्वारेन्टाइन नहुँदा विदेश तथा शहरबाट आउनेहरु सिधै गाउँ पुग्छन्। घरपरिवार र आफन्तसँग घुलमिल हुँदा परिणामतः तोकिएको समयसम्म क्वारेन्टाइनमा नबस्दा कर्णालीका गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएको छ।

 हाल कर्णाली सरकारले कोरोना प्रतिकार्यका लागि रकम छुट्याए पनि कर्णालीका विभिन्न अस्पतालहरुमा प्राप्त मात्रामा अक्सिजन आइसोलेसन तथा जनशक्ति अभावका कारण जटिल प्रकृतिका संक्रमितहरुको मृत्युसमेत हुने गरेको छ।

धेरैजसो अस्पतालहरुमा अक्सिजन र जनशक्तिको अभावका साथ साथै भएका अक्सिजन प्लान्ट चलाउने जनशक्ति अभावकै कारण आइसियु र भेन्टिलेटरसमेत प्रयोगमा आएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.