|

जनकपुरधाम :  प्रदेश २ का  ८ जिल्लाका  पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

सहयोग गरिएको सुरक्षा सामग्रीमा  सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो  सामग्री आज  हस्तान्तरण गरेका हुन्। मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादवमार्फत सो सामग्री नेपाल हस्तान्तरण गराएका हुन्।

मन्त्री यादवले महासंघ प्रदेश २ समितिलाई र आठ वटै जिल्लाका कार्य समितिलाई थर्मोगन एकथान, अक्सिमिटर एकथान समेत हस्तान्तरण गरेका छन्। सुरक्षा सामग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाइनमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्वसमेत प्रदेश सरकारको रहेको हुँदा अहिले वितरण गरिएको सामग्री पर्याप्त छैन, तर आउने दिनमा थप सहयोग रहनेछ।’

सो अवसरमा कोरोनाबाट प्रदेश २ का दुई जना पत्रकारको मृत्यु भएकाको परिवारजनलाई मन्त्रिपरिषद् बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले अश्वाशन समेत दिए। 

मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी सामग्री ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन्। 

केही दिनअघि मात्र नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सरकारलाई पत्रकारहरूको सुरक्षा तथा राहत र निःशुल्क उपचारको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

फोटो पत्रकारका लागि  सुरक्षा सामाग्री हस्तान्तरण  गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.