|

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। 

तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।

यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी-लेखनाथ प्रसारण लाइन, कालीगण्डकी करिडोर प्रसारण लाइनको काम सुचारु छन्।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नियमित रूपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ। जिल्लामा संघ र प्रदेश सरकारमार्फत ग्रामीण सडकमा कालोपत्रे गर्ने कार्य पनि भइरहेका छन्। मध्य पहाडी लोक मार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्ने गरी धमाधम काम अघि बढेको छ।

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले असारसम्म काम सक्नेगरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिए। असारसम्म सडक निर्माण सक्ने अन्तिम म्याद दिएका र तोकिएको अवधिभित्र काम सम्पन्न गर्न ताकेता गरिरहेको उनले बताए।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कामदार खटिएको उनको भनाई छ। यस अघिको कोरोनाको समयमा धेरै कामदार घर फर्किए पनि अहिले भने मजदुरहरू कार्यस्थलमै रही काम गरेको मरासिनीको भनाई छ। 

मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले अहिले सुरुङको फिनिसिङ, पावर हाउसको पर्खाल उकास्ने लगायत कामहरू भइरहेको जानकारी दिए। कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्या देखिएको उनको भनाई छ।

पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणमा पनि कोरोनाले खासै प्रभाव नपारेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्य बताउँछन्। पूर्वाधार कार्यालयमार्फत पर्वतमा १४ वटा सडकको कालोपत्रे र स्तरोन्नति हुँदै छ। जिल्लामा संघ, प्रदेश र स्थानीय सरकार मार्फत सिँचाइ, खानेपानी, विद्युत् लाइन, ढल निकास, सडक विस्तार, औद्योगिक क्षेत्र स्थापना लगायत काम भइरहेका छन्।

गत वर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष सुरु गरेका छन्। गत वर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन्। तर जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.