|

गुल्मी : गुल्मीमा एम्बुलेन्स चालकमाथि गएराति ९ बजे कुटपिट भएको छ।

२८ वर्षीय लालबहादुर खत्रीमाथि रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कुटपिटपछि बोहोरा फरार भएका र उनको खोजी भइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।

खत्रीमाथि इस्मा गाउँपालिका-१ हस्तिचौरमा बोहोराले आक्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

एम्बुलेन्स चालकमाथि कुटपिट हुनु निकै निन्दनीय भएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए। बस्नेतले दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिए। 

यता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्ठले घटनामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे। यस माहामारीको समयमा खटिने एम्बुलेन्स चालकको सुरक्षाका बिषयमा स्थानीय प्रशासन र सरकार गम्भीर बन्नुपर्नेमा श्रेष्ठले जोड दिए।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.